अपडेट 
२०८० श्रावण १९, शुक्रबार १७:२९

भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।

मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च अदालतले रोकेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि भारतको गुजरात उच्च अदालतले गान्धीको पुनरावेदन खारेज गरेपछि गान्धी सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्च अदालतले सजायमा रोक लगाएसँगै उहाँको सांसद पद पुनर्बहाली भएको छ । सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणविना नै दुई वर्षको सजाय सुनाइएको भन्दै सर्वोच्चले सजायमा रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्याउन आग्रह समेत गरेको छ ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । भारतमा दुई वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।

सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो ।

Comment


Related News

Latest News

Trending News