अपडेट 
२०८० श्रावण २५, बिहीबार ११:१०

भद्रकाली मिश्र । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछिका निकै प्रभावशाली र शक्तिशाली नेता । २००७ सालको दिल्ली सम्झौतापछि गठित मोहनशमशेर राणानेतृत्वको राणा–काँग्रेस संयुक्त सरकार ढलेपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका प्रधानमन्त्री बन्न व्यक्तिमन्थनका लागि चयनित पात्रहरू सुवर्णशमशेर, केशरशमशेर, सूर्यप्रसाद उपाध्याय आदिमध्येका एक थिए उनी । एघार सदस्यीय राणा–काँग्रेस संयुक्त सरकारमा आठौँ वरीयताका मन्त्री मिश्रलाई भारतीय संस्थापनका विश्वासपात्र मानिन्थ्यो ।

भनिन्छ, तत्कालीन नेपाली राजनीतिका निर्णायक व्यक्तित्व बिपी कोइरालाका असन्तुष्टि, आक्रोश र क्षोभका बाबजुद पनि सत्ता राजनीतिमा जबर्जस्ती पैठ बनाउने कुशलता र चातुर्य उनमा थियो । राणा–काँग्रेस सरकारमा तराईमधेसबाट रामेश्वरप्रसाद सिँह अर्थात् रामेश्वरबाबुलाई सदस्य बनाउने वा त्यसपछिका मन्त्रिपरिषद् वा कैयन् महत्वपूर्ण राजनीतिक संयन्त्रमा रामेश्वरबाबु वा रामनारायण मिश्रलाई प्रतिनिधित्व गराउनुपर्ने बिपीबाबुको मनसुबा आफूसँग सदैव मतभिन्नता राख्ने भद्रकालीबाबुको प्रभावका कारण तुहिने गरेका थिए । तिनै भद्रकालीबाबुको ०१५ सालको निर्वाचनमा भएको पराजयको चाखलाग्दो पृष्ठभूमि छ । टिकट वितरण गर्नेक्रममा बिपीबाबुको तीन ठाउँमा प्रत्यक्ष र गहिरो चासो थियो । भद्रकाली मिश्र, वेदानन्द झा र धनकुट्टाका राई थरका नेतालाई जसरी भए पनि चुनाव हराउनुपर्ने । यसका धेरैवटा कारण थिए तर बिपीबाबुको भद्रकाली मिश्रसँग राजनीतिक दुरी नमेटिने सन्दर्भमा एउटा घटना पार्टीको १३ जेठ २०० ९ मा जनकपुरमा भएको पाँचौँ महाधिवेशनसँग जोडिएको छ ।

जनकपुर महाधिवेशनमा एक व्यक्ति एक पदका अवधारणाअनुसार पार्टी सभापति मातृकाप्रसाद कोइरालाले एक व्यक्ति एक पदका अवधारणाअनुसार पार्टी सभापतिमा बिपीबाबुको नाम प्रस्तावित गर्दा भद्रकाली मिश्र दस–पन्ध्र जनाका साथ त्यस प्रस्तावविरुद्ध सम्मेलन नै बहिस्कार गरेका थिए । भनिन्छ, तराई काँग्रेसको स्थापनाको बीजारोपण यसकारणले पनि भएको हो । पार्टीको यो महाधिवेशनपछि पनि दाजुभाइ मातृका र बिपीबीच मनोमालिन्य साम्य नहुँदा मातृका प्रजा परिषद् गठन गरी दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । पछि ०१५ सालको आम निर्वाचनअघि काँग्रेसका वरिष्ठ नेता भएर अलग्गिएका टंकप्रसाद आचार्य र अर्का भद्रकाली मिश्रले नेपाल प्रजा परिषद् पुनजीर्वित बनाएका थिए र पछि दुवै नेताबीच मतैक्य नहुँदा प्रजा परिषद् विभाजित भई ०१५ सालको निर्वाचनमा प्रजा परिषद्(आचार्य) र प्रजा परिषद्(मिश्र) का नाममा चुनाव लडेका थिए । दस्ताबेजहरूमा आचार्यका पर्टीले दुई सिट तथा मिश्रका पार्टीले एक सिट हासिल गरेको उल्लेख छ । बिपीबाबुको सहकार्य भद्रकाली मिश्रसँग जनकपुर महाधिवेशनपछि पनि भएको हो ।

तत्कालीन राजा महेन्द्रमाथि आम निर्वाचन गराउन दबाब दिने उद्देश्यले २०१४ साउन १४ गते काठमाडौंमा नेपाली काँग्रेस, नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजा परिषद् (मिश्र) सम्मिलित प्रजातान्त्रिक मोर्चा गठन भएको थियो । मोर्चाले आगामी छ महिनाभित्र निर्वाचन गराउन भनी वीरगन्जमा २०१४ साल असोज २१ गते सम्मेलन गर्यो । सो सम्मेलनले असोज २२ बाट काठमाडौंमा भद्र अवज्ञा आन्दोलन गर्ने निर्णय गर्यो । र, त्यसबारे असोज २० गते दरबारलाई पत्र लेखेर जानकारी गरायो । त्यसपछि राजा महेन्द्रले प्रजातान्त्रिक मोर्चाका शीर्ष नेताहरू नेपाली काँग्रेसका बिपी कोइराला, नेपाली राष्ट्रिय काँग्रेसका डिल्लीरमण रेग्मी र नेपाल प्रजा परिषद्(मिश्र) का भद्रकाली मिश्रलाई बोलाएर करिब अढाइ घन्टाको छलफलपछि निर्वाचन गराउने कुरामा सहमति जनाएका थिए । देशमा निर्वाचन हुने भयो । बिपीबाबुको एउटा लाइन थियो । जसरी भए पनि भद्रकाली मिश्र, तराई काँग्रेस गठन गरेका वेदानन्द झा र पूर्वी पहाडका राई थरका एक नेतालाई पराजित गराउने । एकलकाँटे र सत्ताकेन्द्रित राजनीति गर्ने भद्रकालीबाबुलाई लिएर तराईमधेसका शीर्षस्थ नेताहरू पनि उतिसारो सकारात्मक थिएनन् ।

प्रजातान्त्रिक मोर्चामा अन्य पार्टीलाई थप दबाब बढाउन मात्र राखिएको र ती पार्टीले आफ्ना झन्डा बनाउन नसक्दा र मञ्चमा बोल्ने मानिस ल्याउन नसक्दा काँग्रेसकै कार्यकर्ताले ती काम गर्नुपरेको बिपीबाबुको गुनासो थियो । सायत् यो पनि एउटा कारण थियो मिश्रको राजनीतिक कदलाई लिएर बिपीबाबाबुको रिसराग । भद्रकाली मिश्र महोत्तरी, धनुषा र सर्लाही गोश्वाराको सम्भवतः ४४ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने भएका थिए । त्यससँगै जोडिएको क्षेत्र थियो ४५ नम्बर । जहाँबाट रामनारायण मिश्रलाई काँग्रेसले उम्मेदवार बनाएको थियो । बिपीबाबु त्यस क्षेत्रबाट राजपुत जातिका गोरो, सुन्दर र आकर्षक व्यक्तित्व भएका ‘उच्चवर्ग’ का चिन्ताहरण सिँहलाई उम्मेदवार बनाउन चाहेका थिए । महोत्तरीको डाम्हीमहेशपुर अहिले डाम्हीमडई(महोत्तरी गाउँपालिका) का सिँह महोत्तरी, धनुषा र सर्लाही गोश्वाराका काँग्रेस अध्यक्ष पनि थिए । तर, डाम्ही मडई नभएको क्षेत्रमा चुनाव नलड्ने भनेर सिँहले टिकट लिन अस्वीकार गरे ।

खासमा डाम्हीमडई रामनारायण मिश्रको चुनावी क्षेत्रमा थियो । त्यसपछि बिपीबाबुले भनेझैँ जलेश्वर बैठकमा आएका आफूले नचिनेको, कालो र पत्यारनलाग्दो मानिसलाई टिकट दिए । उनी थिए महोत्तरी सरपल्लोका बेनीमाधव सिँह । बेनीमाधवले काँग्रेसकै टिकटमा भद्रकाली मिश्रलाई पराजित गर्दै चुनाव जिते । मिश्र २०४७ सालको प्रजातन्त्र पुनसर््थापनापछि राजपरिषद् स्थायी समितिका सभापति भएका थिए । त्यसताक एउटा अनौठो घटना भएको थियो । ४६ नम्बर क्षेत्र जहाँ पछि विभाजित महोत्तरी र धनुषा दुवै जिल्लाका भूभाग थिए । त्यहाँबाट बिपीबाबुले भोजराज घिमिरेलाई टिकट दिएका थिए । तर त्यसविरुद्ध काँग्रेसका ठूला नेताहरू महेन्द्रनारायण निधि, रामनारायण मिश्र आदिले चर्को विरोध गरे । अर्का नेता सरोजप्रसाद कोइराला मौन भए । अन्ततः असन्तुष्ट पक्षलाई आफूले टिकट दिए पनि तपाईँहरूलाई जे गर्न मन लाग्छ गर्नोस् भनेर बिपीबाबु हिँडेका थिए । यता निधिजी र मिश्रजीहरूले त्यस क्षेत्रबाट काँग्रेसका आधिकारिक उम्मेदवार घिमिरेका विरुद्ध हरि पूर्वाका रामदुलार यादवलाई स्वतन्त्र उम्मेदवार बनाए ।

घोडा छाप भएका रामदुलार यादव २०१५ सालको निर्वाचनमा १ सय ९ निर्वाचन क्षेत्रमा स्वतन्त्र जितेका चार उम्मेदवारमध्ये एक थिए । त्यसताक सप्तरीतिरबाट हरिलाल चौधरी स्वतन्त्र उम्मेदवारकै रूपमा जितेका थिए । विद्रोही उम्मेदवारका प्रभाव र स्वाभावका विषयमा सोमबार नेपाली काँग्रेसका शीर्ष नेता विमलेन्द्र निधिले एउटा घतलाग्दो कथा सुनाए । दलबाट हटक भएर निर्वाचनमा होमिनेहरू दलमा फर्कँदाका पार्टीप्रतिको निष्ठा र प्रतिबद्धता अनि अमुक उम्मेदवारप्रति पार्टी नेता वा कार्यकर्ताका मनमा रहेका संशयका विषयमा चर्चाक्रममा उनले देशको पहिलो आम निर्वाचन २०१५ को एउटा घटना सम्झेका थिए । उनले काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध घोडा छापबाट जितेका एक सांसदले एउटा घोडालाई रुखमा बाँधेर ‘ अब यो घोडा रुख भयो’ भनेर टिप्पणी गरेको उल्लेख गरे । उनले चुनावपछि काँग्रेसमा फिर्ता भएका ती व्यक्ति आजीवन काँग्रेसी नै रहेको बताए । ती व्यक्ति यादव नै थिए ।

अहिले पनि जेब्राघोडाबाट स्वतन्त्र उममेदवार भएर बर्दिवासका मेयर जितेका प्रह्लाद क्षेत्री र घन्टाघरबाट जनकपुरधामका मेयर जितेका मनोजकुमार साह काँग्रेसमा फर्केका छन् । उनीहरूले आफ्ना निर्वाचनचिह्नलाई कसरी रखसँग बाध्ने होलान् हेर्न बाँकी नै छ । अन्तिम कुरा, बिपीबाबुको आत्मविश्वासको प्रबलता अतुल्य थियो । उनले पराजित गर्न खोजेका भद्रकालीबाबु, बेदाबाबु र राई थरका नेता तिनैजना चुनावमा सफलता पाएनन् ।

Comment


Related News

Latest News

Trending News