अपडेट 
२०८० श्रावण २७, शनिबार ०८:१२

मधेश प्रदेश सरकारले गठन गरेको संसदीय छानबिन समिति सक्रिय भएको छ । शुक्रबार समितिले पार्टीका संसदीय दलका नेताहरुसंग रकमान्तरण सम्वन्धमा छलफल गरेको छ ।

समितिका संयोजक लोसपाका सांसद उपेन्द्र महतोले शुक्रबारको बैठकमा रकमान्तरण भएको सम्बन्धमा आ–आफ्ना दलका सांसदहरुसंग छलफल गर्न भनिएको जनाएका छन् । समितिले अर्थमन्त्रालयसंग सशर्त, विशेष र समपुरक बजेटमा रकमान्तरण भएको छ छैन् सम्बन्धमा अर्थमन्त्रालयसंग कागजात माग गरेको थियो । त्यो कागजात मन्त्रालयले समितिलाई बुझाइसकेको छ । कुन मन्त्रालयबाट कुन मन्त्रालयमा बजेट गएको छ त्यस सम्बन्धमा सम्बन्धित मन्त्रालयसंग कागजात माग गरिएको जनाएको छ ।

त्यस्तै, स्थानीय तहमा सशर्त, विशेष र समपुरक मध्ये कुन बजेट माग गरिएको र कुनमा गएको सम्बन्धमा स्थानीयतहहरुसंग माग गरिने जनाइएको छ । करीब १० वटा स्थानीय तहले समेत कागजात समिति समक्ष पेश गरिसकेको छ । संयोजक महतोले आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयका सचिव, विशेषज्ञहरुबाट परामर्श लिने जनाए । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले आर्थिक मसान्त सकिनै लाग्दा वन तथा वातावरण मन्त्रालय मार्फत आफ्नो निर्वाचन क्षेत्रमा मन्दिर र धर्मशाला निर्माणका लागि बजेट रकमान्तरण गरेको आरोप लगाइएको थियो ।

वन तथा वातावरण मन्त्रालयको ५० करोड भन्दा बढी बजेट रकमान्तरण गर्दै ७ करोड भन्दा बढी बजेट मन्त्री यादवले आफ्नै निर्वाचन क्षेत्रमा पठाएको आरोप लगाइएको छ । मन्त्री यादवको दबाबका कारण अर्थ मन्त्रालयले रकमान्तरण गरेको बजेटको विवरण भने गोप्य राखेको र मधेश प्रदेशका मन्त्रालयहरुबाट नयाँ थप योजनाका लागि बजेट रकमान्तरण गरिए पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले विवरण सार्वजनक गर्न नचाहेको तथा अर्थ मन्त्रलायले बजेट रकमान्तरण रकम, योजना र निर्णय गोप्य राखेको सदनमा सांसदहरुले आवाज उठाएपछि मुख्यमन्त्री सरोजकुमार यादवले संसदीय छानबिन समिति गठन गरेका थिए ।

अर्थमन्त्री यादवमाथि भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटमा ४८ योजनाका लागि रकमान्तरण गरेको १० करोड ९० लाख रुपैयाँ थप योजनाका लागि अर्थ मन्त्रालयबाट असार ७ गते गएको र भू तथा जलाधार व्यवस्थापन कार्यालयमा गएको ४८ योजनामध्ये रौतहटमा २ योजना र सर्लाहीमा ४६ योजना रहेको आरोप लगाइएको थियो । सर्लाहीका ४६ योजनामध्ये मन्त्री यादवले आफ्नो निर्वाचन क्षेत्रमा ३४ योजना लगेका आरोपसमेत लगाइएको थियो । सर्लाही निर्वाचन क्षेत्र २(२) मा पर्ने बरहथवा, बसबरिया, चक्रघट्टा र कविलासीमा मन्त्री यादवले मन्दिर, धर्मशाला, मस्जिद, महरानीजीको पर्खाल, ब्रह्मबाबाको पर्खाल, आश्रम, पार्क, पोखरी सौन्दर्यकरण, अध्ययन भवनलगायतको टुक्रे योजनाका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटमा ७ करोड ८० लाख रुपैयाँ रकमान्तरण गरेको आरोप रहेको छ ।

Comment


Related News

Latest News

Trending News