अपडेट 
२०८० श्रावण २८, आईतवार ०७:३७

केही दिनदेखि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) महानगरपालिका नेतृत्वको विरोधमा अभियान सुरु गरेका छन् ।

वडा अध्यक्ष सिंह मेयर राजेशमान सिंहलगायत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विरोधमा मोर्चा खोल्दै महानगरपालिमा भइरहेको भ्रष्ट्राचारको भण्डाफोर अभियान सुरु गरेका छन् । वीरगञ्ज महानगरपालिका कार्यालय भागबण्डा र कमिशनको खेल मैदान बनेको वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह (पराग)ले आरोप लगाएका छन्। वडा अध्यक्ष सिंहले सामाजिक संजालबाट महानगरमा भइरहेको भ्रष्टाचारको भण्डाफोर क्रमिक रुपमा गरेका छन् । उनले आफ्नो फेसबुक वालमा पोस्ट गर्दै लेखेका छन् ‘भागबण्डाको खेलमैदान बन्दै महानगर ! महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष’। वीरगञ्ज महानगरपालिका कार्यालयका अधिकांश कामहरु कमिशन र कृपावादबाट चल्ने गरेको आरोप रहेको छ ।

महानगरबाट प्रदान गरिने अधिकांश सेवा प्रदायक कामहरुमा सम्बन्धित कर्मचारीहरुले कमिशन लिने गरेकोले गर्दा महानगर भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप छ । यतिमात्र होइन महानगरले गरेको खरिद तथा आर्थिक असुलका टेण्डर र विकास निर्माणका सबै ठेक्कापट्टाहरु कमिशनमा दिने गरिएको वडा अध्यक्ष सिंहको आरोप छ । वडा अध्यक्ष सिंहले महानगरमा भइरहेको भ्रष्टाचारको प्रमाणहरु महानगरको सिसि केमरामा समेत रेकर्ड रहेको दाबी गर्दै लेखेका छन,‘ठेकेदारहरु बोर्ड बैठक हलमा बसेर ठेक्का मिलाउने काम भएको छ । ठेकेदारहरुलाई ठेक्का मिलाउन महानगर परिसर भित्र बसेर चकिया मिलाउन बोर्ड बैठक हल प्रयोगमा आउने गरेको छ । वीरगञ्ज महानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप पूर्व मेयर विजय कुमार सरावगीको पनि छ । मिशन कमिशन अन्तर्गत सबै ठेक्कापट्टा तथा विकास निर्माणको कामहरु भइरहेको पूर्व मेयर सरावगीले बताए । उनले भने,‘जुन सुकै काममा निश्चित कमिशन निर्धारण गर्नुका साथै मेयर राजेश मानसिंले आफ्नो आसेपासेलाई पोस्ने मात्र काम गरिरहेका छन्’। आर्थिक वर्ष ०७८/०७९ मा सवारी करको ठेक्का महानगरपालिकाले ६ करोड ११ लाखमा आयरा निर्माण सेवालाई दिएको थियो । स्थानीय निर्वाचनपछि देखाउनको लागि मेयर सिंह निर्वाचित भएपछि आ.व ०७९÷०८० मा ठेक्का लगाएनन् । अमानतमै उठाउने काम भयो ।

बजार मूल्यभन्दा सवा करोड बढीमा ट्याक्टर खरिद

ठूलो कमिशनमा महानगरपालिकाले ट्याक्टर खरिद गरेको आरोप वडा अध्यक्षहरुको रहेको छ ।

एमालेका एक वडा अध्यक्षका अनुसार ३२ वटै वडाका लागि खरिद गरिएको ट्याक्टर र टेलरमा ठूलो आर्थिक अनियमितता भएको बताइएको छ । महानगरपालिकाले एक करोड २० लाख रुपैयाँ एक करोड २० लाख रुपैयाँमा ट्याक्टर र टेलर खरिद गरेको छ । जुन बजार भाउ भन्दा सवा करोड महगो रहेको छ । महानगरपालिकाले खरिद गरेको आइचर कम्पनीका ३२ वटा ट् याक्टरको बजार भाउ दुई करोड ७२ भए पनि महानगरपालिकाले भने तीन करोड ९२ लाख भुक्तानी गरेको छ । इ–बिडिङमार्फत गरिएको ठेक्का बोलपत्रमा सुरुमा पाँच कम्पनीले आवेदन गरेकोमा प्राविधिक त्रुटि भन्दै महानगरले त्यसलाई बदर गरेको थियो । अर्को बोलपत्रमा विना एग्रो इन्टरप्राइजेज प्रा.लिको मात्रै आवेदन स्वीकृत गर्दै यान्त्रिक तथा राजस्व शाखाले त्यसैबाट सबै ट्याक्टर र टेलरहरु खरिद गरेको छ । २६ असोज ०७९ मा गरिएको इ–बिडिङमा खेसारी चन्द्र वर्णवाल, नेपाल ट्रेड एन्ड सर्भिस लिंक, तुलस्यान ट्याक्टर्स, अर्थ अटोबिल्स प्रा.लि र ओमनी अटो मोबाइल्सले आवेदन दिएका थिए । तर, मूल्यांकन समितिले उनीहरूको आवेदन प्राविधिक रूपमा ठीक नभएको भन्दै खारेज गर्यो र १४ चैत ०७९ मा दोस्रोपटक बोलपत्र आह्वान गरिएको थियो ।

वीरगञ्ज, बाइपास रोडमा रहेको विना एग्रो इन्टरप्राइजेज प्रा.लिले दिएको मोल भाउ मूल्यांकन समितिले सदर गर्दै खरिद गरेको छ । उक्त मूल्यांकन समितिमा महानगरको लेखा शाखाका अधिकृत रामकुमार कुशवाहा, यान्त्रिक तथा राजस्व शाखाका प्रमुख मनोज कर्ण, योजना तथा पूर्वाधार शाखाका प्रमुख वरिष्ठ इन्जिनियर अवधेशप्रसाद कुशवाहा र इन्जिनियर प्रकाश अधिकारी रहेका छन् । पहिलो पटक परेको अवेदक कम्पनीका ट्याक्टर गुणस्तर नभएको महानगरपालिकाका तर्क रहेको छ । इन्जिनियर अधिकारीले भने,पहिलोपटक पाँच कम्पनीले दिएको दिएको कोटेशनमा ट्याक्टर र टेलर प्राविधिक रूपमा सही थिएन त्यसैले हामीले बदर गरेका हौ । महानगरका पदाधिकारीले योजनाबद्ध रूपमै पहिलो टेण्डर बदर गरेको तुलस्यान ट्याक्टर्सका सञ्चालक सन्दीप तुलस्यानको अरोप छ । मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आजम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलकै स्वीकृत र सहमतिमा उक्त खरिद कार्य गरिएको एक कर्मचारीको भनाइ छ । वीरगञ्ज– २६ का वडाध्यक्ष शम्भु मिश्रले पनि बजारमूल्य बुझ्दा महानगरपालिकाले वितरण गरेको ट्याक्टर र टेलरलाई १२ लाख २५ हजार पर्नु आश्चर्यजनक भएको बताए

विगत भन्दा आधामा महानगरको सवारी ठेक्का

वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको सवारी ठेक्का विगत भन्दा आधामा दिएको छ ।

महानगरपालिकाले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागेको छ । महानगरपालिकाले आह्वान गरेको सवारी करको ठेक्काको लागि १९ वटा फारम बिक्री भए पनि ६ वटा टेन्डर मात्रै दर्ता भएको छ । राजस्व महाशाखाका अनुसार सवारी कर ठेक्काको १९ वटा बोलपत्र फारम बिक्री भएको थियो । जसमध्ये ६ वटा दर्ता भएका थिए । महानगपालिकाको बोर्ड बैठकमै ठेक्केदारहरुको ठेक्कापट्टाका चकिया खाने सहमति ६ वटा फर्म मात्रै दर्ता गरिएको थियो । महानगरले सवारी कर ठेक्काका लागि न्यूनतम ३ करोड रुपैयाँ कायम गरेको थियो । जस अनुसार सबैको सहमति र मिलेमतोमा ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा आरपीए कन्सट्रक्सनले सवारी पटके सवारी व्यवस्थापनको ठेक्का पाएको देखिन्छ । यस भन्दाको पहिला मेयर विजय सरावगीको नेतृत्वले दुई वर्ष अगाडिको पटके सवारी व्यवस्थापन करको ठेक्का आह्वान गर्दा ६ करोड ११ लाख रुपैयाँमा सकार भएको थियो । त्यसबेला आयरा निर्माण सेवाले आर्थिक वर्ष ०७८÷०७९ का लागि उक्त मूल्यमा सवारी करको ठेक्का पाएको थियो ।

०७९/०८० मा भने महानगरपालिकाले सवारी करको ठेक्का आह्वान गरेका थिएनन् । २ वर्ष अगाडिको सकार ठेक्का रकम भन्दा आधा मूल्यमा सवारी कर ठेक्का लागु भएपछि मिलेमतोको आरोप लागेको छ । ०७८÷०७९ का लागि सवारी कर ठेक्का आह्वान हुँदा महानगरपालिकाले न्यूनतम मूल्य नै ४ करोड ९० लाख कायम गरेको थियो । तर,०८०÷८१ का लागि आह्वान भएको सवारी कर ठेक्काको न्यूनतम मूल्य ३ करोड रुपैयाँ कायम गरिएको थियो । बोलपत्र खोल्नु भन्दा एक दिन अगाडि मात्रै ठेकेदारले महानगरपालिकाको बोडैमै मिलेमतोमा ठेक्का हाल्ने सहमति गरेको दाबी वडा अध्यक्ष रामकिशोर सिंहको रहेको छ । चालु आर्थिक वर्षमा चार पांग्रे भारतीय नम्बरको सवारी साधनबाट सवारी कर नउठाउने निर्णय भएकाले ठेक्का रकम कम मूल्यमा सकार भएको हुनसक्नेतर्क प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको छ ।

Comment


Related News

Latest News

Trending News