अपडेट 
२०८० श्रावण ३०, मंगलवार ०९:२५

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको छ ।

सीआईबीले अस्ति आइतवार पौड्यालसँग बयान लिएको हो । सरकारी जग्गामा नक्कली मोही खडा गर्ने निर्णय प्रक्रियामा सामेल भएको आरोपमा अस्ति बेलुका कार्यालयमै बोलाएर बयान लिएको र आवश्यक परे फेरि बोलाउने सीआईबीले जनाएको छ ।

पौड्यालले बयानका क्रममा जग्गा हिनामिना गर्ने आफ्नो नियत र उद्देश्य नरहेको, तलबाट आएका फाइललाई मन्त्रिपरिषदमा पेस गर्ने र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न मन्त्रालयलाई पठाउनेबाहेक आफू संलग्न नरहेको जवाफ दिनुभएको छ । उहाँले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकमा समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि २०७६ मंसिर १५ मा पनि सीआईबीले चीनका लागि नेपाली राजदूत रहेकै बेला उहाँलाई यसबारे सोधपुछ गरेको थियो । सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ ।

सङ्गठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलका दफाअन्तर्गत उहाँहरुलाई बयानमा बोलाउन लागिएको हो । गएको असार १२ मा ललिता निवास जग्गा प्रकरणका केही आरोपितलाई पक्राउ गरेर अघि बढेको अनुसन्धानलाई सीआईबीले आउँदो भदौ पहिलो हप्ताभित्र पूरा गरिसक्नुपर्ने हुन्छ ।

सङ्गठित अपराधको कसुरमा आरोपित पक्राउ परेपछि अनुसन्धान गर्न प्रहरीलाई अधिकतम ६० दिनको समय हुन्छ । सर्वोच्च अदालतले साउन २१ मा निर्णायाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सीआईबीको हिरासतमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News