अपडेट 
२०८० भाद्र १, शुक्रबार ०७:१४

अर्थमन्त्री डा. प्रकाशशरण महतले कोशी–मरिन डाइभर्सनले मधेश समृद्ध हुने दावी गरेका छन् ।

उनले कोशी–मरिन डाइभर्सनले मधेशमा सिँचाइ र खानेपानीको समस्या समाधान हुने बताए । उनले भने–‘ मधेशमा खेती योग्य जग्गा रहेपनि सिँचाइको अभावका कारण यस पटक खडेरी पर्ने सम्भावना थियो, तर बैकल्पिक सिँचाइका माध्ययमले किसानहरु रोपाइ गर्न सफल भए, कोशी मरिन डाइभर्सनबाट १२ महिना पानीको समस्या हुँदैन् । नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताए । उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे । नेपाली कांग्रेसका प्रवक्ता डा महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद् लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।

मन्त्री डा महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए । मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी दिए । उनले भने–‘ आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो ।’

Comment


Related News

Latest News

Trending News