अपडेट 
२०८० भाद्र १, शुक्रबार १७:३८

जनता समाजवादी पार्टी नेपालले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएर कार्यकालको प्रावधान कायम राखेको छ ।

विधान अधिवेशनबाट जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो । 

साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ । विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ । एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान कायम राखिएको हो ।

धारा ८६ मा पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश, राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरिसकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ ।

उमेर हद कायम रहेको भए पार्टीका अध्यक्ष उपेन्द्र यादव सात वर्षपछि पार्टीबाट अवकाश लिनुपर्ने थियो । अध्यक्ष यादव ६३ वर्षका छन् । विधानमा ७० वर्षपछि पार्टीको केन्द्रीय समितिका लागि योग्य नहुने प्रस्ताव गरिएको थियो ।

त्यस्तै, उमेर हद कायम रहेको भए पार्टी संघीय परिषद्का अध्यक्ष अशोक राईले चार वर्षपछि पार्टीबाट अवकास लिनुपर्ने हुन्थ्यो । शिक्षा मन्त्रीसमेत रहेका अध्यक्ष राई ६६ वर्षका भए । उमेर हदको प्रावधान कायम रहेको भए पार्टीका शीर्ष नेताहरुले अवकाश लिनुपर्ने अवस्था आउने देखिएकाले त्यसलाई हटाएको बताइएको छ ।

उमेर हद राख्दा युवाहरु उत्साहित भएका थिए । तीन दिनसम्म चलेको विधान अधिवेशनमा ७० वर्षे उमेर हदको बारेमा व्यापक छलफल भएको थियो । सो छलफलमा अधिकांशले उमेर हदलाई समर्थन गरेका थिए भने केहीले यसको विपक्षमा धारणा राखेका थिए ।

अधिवेशनमा उठेका विषयहरुलाई समेटेर विधानलाई अन्तिम रुप दिन जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय एक समिति गठन भएको थियो । त्यो समितिले अधिवेशनमा उठेका विषयवस्तुलाई समावेश गरी अन्तिम रुप दिएर प्रमाणीकरणसहित आयोग पठाएको थियो । आयोगले स्वीकृत गरेपछि नयाँ विधान कार्यान्वयनमा आएको छ ।

एउटै पदमा लगातार दुई कार्यकाल उम्मेदवार हुन नपाउने प्रावधान विधानमा कायम छ । यो विधान अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव अब दुई कार्यकाल मात्र अध्यक्ष रहनेछन् । प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने तोकिएको छ । महाधिवेशनको मिति भने तोकिएको छैन ।

Comment


Related News

Latest News

Trending News