अपडेट 
२०८० भाद्र ११, सोमबार ०७:३४

माओवादी केन्द्रका दुई सह–महासचिव मात्रिकाप्रसाद यादव र गिरिराज मणि पोखरेलबीच वारपारको विवाद रहेकै बेला माओवादी केन्द्रले मधेशमा तीन महिने अभियान सञ्चालनमा जुट्न निर्देशन दिएको छ । दुवै सह– महासचिवका आन्तरिक विवादका कारण माओवादी केन्द्रले आठौँ महाधिवेशन सकिएको एक वर्ष आठ महिनासम्म पनि मधेश प्रदेश कमिटी गठन गर्न सकेको छैन ।

अधिवेशनबाट ९ जना पदाधिकारीसहित २७१ जनाको प्रदेश समिति चयन गर्नुपर्ने हुन्छ । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान थियो । पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेपछि केन्द्रले नै हस्तक्षेप गर्नुपरेको थियो । विवाद मिलाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पहल गरेका थिए । सहमति पश्चात् पुस ३ मा सर्लाहीको लालबन्दीमा बस्ने भनिएको बन्दसत्र बस्दै नबसी स्थगित भयो ।

६ वटा भौगोलिक र तीन वटा गैर भौगोलिक प्रदेश रहेको माओवादी केन्द्रमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा कमिटी गठन भइसकेको छ । माओवादी केन्द्रको प्रभावशाली नेता रहेका मात्रिका यादव र गिरिराजमणि पोखरेल मधेश प्रदेशमा मात्र नभइ राष्ट्रियस्तरमै स्थापित नेता छन् । यादव १० वर्ष जनयुद्ध लडेर आएका नेता छन् । पोखरेल माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ मा एकता केन्द्रबाट आएका नेता छन् । यी दुई नेताबीच मधेश राजनीतिमा आफ्नो प्रभाव जमाउने होडबाजी र शक्ति संघर्षका कारण पार्टी कमजोर भएको एक केन्द्रीय सदस्यले बताए । दुई वर्षअघि नै अधिवेशनबाट कमिटी गठन गर्ने प्रयास भए पनि आन्तरिक विवादका कारण असफल भएको ती नेताले स्वीकारे । ‘त्यतिबेलै हामीले कि निर्वाचन, कि त सर्वसम्मत रूपमा कमिटी गठन गरौँ भनेर नेतृत्वलाई सुझाव दिएका थियौँ । न निर्वाचन भयो, न त सर्वसम्मत कमिटी गठन भयो । आन्तरिक विवादका कारण डेडलक त्यत्तिकै रह्यो’, उनले भने, ‘हारे पनि जिते पनि पार्टीकै हो । डेडलक बनाएर राख्न भएन । अब नयाँ इन्चार्ज आउनुभएको छ ।

डेडलक खोल्नुहुन्छ भन्ने आशा छ ।’ विवाद यति चर्किएको कि गतवर्ष स्थानीय तहको निर्वाचनका लागि प्रशिक्षण कार्यक्रममा भाग लिन प्रचण्ड र नारायणकाजी श्रेष्ठ जनकपुरधाम पुग्दा मात्रिका यादवले कार्यक्रम बहिष्कार गरे । प्रशिक्षण कार्यक्रममा श्रेष्ठ सहभागी भएकोमा असन्तुष्टि जनाउँदै यादवले कार्यक्रम बहिष्कार गरेका थिए । पोखरेल शिक्षामन्त्री हुँदा धनुषामा रहेको सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्न लागेको अरोप लगाउँदै आठौँ महाधिवेशनमा पोखरेलमाथि कारबाही गर्न सत्यनारायण भगत समूहले माग गरेको थियो । बन्दसत्रमा आफूमाथि कारबाहीको माग गरेपछि अध्यक्षमण्डलमा रहेका पोखरेलसहितका नेताहरूले बन्दसत्र नै बहिष्कार गरेपछि हंगामा भएको थियो । विवाद सुल्झाउन स्थायी कमिटी बैठकले हस्तक्षेप गर्नुपरेको थियो । दुई नेताबीचको शक्ति संघर्षका कारण २०७८ फागुन २३ मा बसेको माओवादी स्थायी कमिटी बैठकले मध्यस्तताका लागि गणेश साहलाई मधेशको इन्चार्ज बनायो । साह इन्चार्ज भएर गएपछि विवाद मिलाएर अधिवेशन गर्ने प्रयास गरे पनि असफल भए ।

डेढ वर्ष इन्चार्ज भएका उनलाई राजधानीमा साउन(१७– २१) मा बसेको बैठकले बिदा दियो । लीलामणि पोखरेलले नयाँ इन्चार्जको जिम्मेवारी पाएका छन् । आन्तरिक विवाद काबुबाहिर गएकाले आफूले विवाद मिलाउन नसकेको साहले स्वीकारे । विगतमा विवाद भए पनि केन्द्रीय समितिको निर्णयपछि विगतको जस्तो स्थिति नरहेको उनको जिकिर छ । ‘मधेश कमिटी गठन नहुनुमा आन्तरिक र बाह्य फ्याक्टरको प्रभाव थियो । म इन्चार्ज भएर जाँदा आन्तरिक विवाद काबुबाहिर रहेकाले पार्टी नेतृत्वबाहेक अन्यले मिलाउन सक्ने स्थिति थिएन’, उनले भने, ‘आन्तरिक विवादकाबीच मलाई पार्टीले मधेशको इन्चार्ज बनाएर पठाएको हो । मैले विवाद सुल्झाएर मधेश कमिटी गठन गर्न निकै प्रयास गरेँ तर सकिएन । मधेश विशेष प्रदेशजस्तै भयो । त्यहाँ विशेष तरिकाले चल्छ ।’

भदौ १६ देखि ७५३ वटै पालिकामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सञ्चालनका लागि आन्तरिक तयारीमा माओवादी केन्द्र व्यस्त छ । केन्द्रीय पदाधिकारीदेखि पालिका इन्चार्जसमेत फेरबदल भइसकेको छ । विगतमा आफ्नै क्षेत्रको इन्चार्ज बनाए पठाउँदा उत्कृष्ट नतिजा ल्याउन नसकेको निष्कर्ष निकाल्दै योपटक अन्तरजिल्ला हेर्ने गरी नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । नेताहरूको कार्यविभाजन सबै प्रदेशमा टुङ्गिए पनि मधेश प्रदेशमा टुङ्गिएको छैन । ‘कार्यविभाजनको खाका तयार भइसकेको छ । अभियान अवधिभर आन्तरिक विवाद बाहिर नल्याउने समझदारी भइसकेको छ ।

अब हामी एकताबद्ध भएर अभियान सफल बनाउन लाग्छौँ ।’ उनले अभियानपछि मात्र मधेश कमिटी गठन गर्ने जानकारी दिँदै अभियान अवधिभर कुनै विवाद आए आपसी समझदारीमा समस्याको हल गर्ने बताए । अर्का नेता विश्वनाथ साहले केन्द्रीय समितिको बैठकपछि पार्टी एकताबद्ध भएको जानकारी दिँदै पुराना अन्तरविरोधका कुरा बाहिर नल्याउने सहमति भएको जिकिर गरे । ‘सहिद रामवृक्ष यादवको शालिक व्यवस्थापनको विषयमा मात्रिकाजी र गिरिराजजीबीच अन्तरसंघर्ष चलेको थियो ।

आपसी सहमतिमै ती विषय अहिले हल भइसकेको छ । अहिले आन्तरिक विवाद केही छैन’, उनले भने । दुई नेताबीच देखिएको आन्तरिक द्वन्द्वका कारण मधेश प्रदेशमा पार्टी निकै कमजोर भएको छ । गएको स्थानीय तह निर्वाचनमा मधेशका १३६ पालिकामध्ये माओवादीले ९९ स्थानमा एकल उम्मेदवारी दिएको थियो । तीमध्ये जम्मा ७ पालिका प्रमुख मात्रै माओवादीले जित्यो । गठबन्धन गरेको स्थानमा थप २ पालिका जित्यो । अघिल्लो निर्वाचनमा माओवादी एक्लैले २१ पालिका जितेको थियो । त्यस्तै प्रदेश सभामा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरी चार÷चार सिटमात्र जित्न सफल भयो ।

संघमा पाँच दलीय गठबन्धनको कोटाबाट मधेश प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा उम्मेदवारी दिए पनि एक सिट पनि जित्न सकेन । माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको नेपाल समाजवादी पार्टीको उम्मेदवार महेन्द्रराय यादवले मात्र चुनाव जित्न सफल भए । मधेशमा नेसपाले मात्र माओवादीको साख जोगायो । अघिल्ला निर्वाचनमा महोत्तरी–१ बाट लगातार चुनाव जित्दै आएका पोखरेलले आन्तरिक विवादकै कारण पराजित भए । २०७४ को निर्वाचनमा माओवादीले सिरहा–२, धनुषा–१, महोत्तरी–१, सर्लाही–३ र रौतहट–३ मा जित हात पारेको थियो ।

Comment


Related News

Latest News

Trending News