अपडेट 
२०८० भाद्र १९, मंगलवार ०७:३०

सप्तरीबाट प्रदेश सभामा स्वतन्त्र भएर निर्वाचित सभासद अनिरुद्ध प्रसाद सिंह यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनी माथि एकजना माओवादी नेताको हत्यामा संलग्न रहेको अभियोग लागेको छ । जिल्ला अदालत सप्तरीले यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो । सभासद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् । आर्थिक वर्ष २०६३/०६४ को मुद्दा नम्बर १३१ मा यादवलाई कसुरदार ठहर गरी अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा यादव सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले बताए । ‘१७ वर्ष पुराना मुद्दामा उनलाई पक्राउ गरिएको छ ’एसपी कार्कीले .भने, अदालतमा हाजिर गराएर म्याद थप गरिएको छ ।

सभासद यादवलाई पक्राउ गरिएको जानकारी तत्कालै मधेश प्रदेश सभामुखलाई गराइएको उनले बताए । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो । रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको छ ।

यादव पक्राउ परे पनि उनको पद भने हाल यथाथत रहने बताइएको छ । पदमुक्त गर्न प्रहरीले सभामुखलाई पत्राचार गर्नुपर्ने प्रावधान रहेको छ । यादवको मुद्दा राजनीतिक प्रतिशोध रहेकाले सरकार तत्काल फिर्ता लिनुपर्ने यादव निकटका नेताहरुले माग गरेका छन् ।

यादवकै निर्देशनमा तत्कालीन खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याइ गोली हानी चौधरीको हत्या भएको थियो । उजुरीकर्ता चौधरी मृतक चौधरीकी दिदी रहेको बताइएको छ ।

चौधरी माओवादी कार्यकर्ता थिए । मृतककी दिदी धनगढी गाविस–३ की चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादव सहित ९ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । यादव बिरुद्ध किटानी जाहेरी परे पनि उनी वेवास्ता गर्दै आएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ । तर यादवले आफूलाई अदालतबाट कुनै प्रकारको पत्र, पुर्जी हालसम्म प्राप्त नभएको दावी गरेका छन् ।‘अदालतको पुर्जी प्राप्त भएको भए समयमै हाजिर हुने थियौं ’उनले भने, अदालतको सम्मान गर्ने बताउँदै अदालतबाट न्याय मिल्ने छ ।

झुठा जाहेरी दिएर मेरो नाम समावेश गरिएको उनले दावी गरे । राजनीति र समाजसेवामा सकृय रहेका यादव हिंसा बिरोधी नेताको रुपमा स्थापित छन् । तत्कालीन नेपाल सदभावना पार्टीका अध्यक्ष स्व.गजेन्द्र नारायण सिंह नेतृत्वमा मधेशको राजनीतिमा यादव होमिएका थिए । पछिल्लो समयम उनी मधेशवादी दलहरुबाट नै आलोपालो राजनीति गरिरहेका छन् ।

यादव स्वतन्त्र रुपमा निर्वाचन जितेपनि पछिल्लो समय राजनीतिमा जनता समाजवादी पार्टी(जसपा)निकट रहेका छन् । यस अघि उनी राष्ट्रिय सभासदस्य पदमा जसपाबाट उम्मेदवारी दिएका थिए । रौतहट जिल्लाको राइस मिल घटनामा संलग्न रहेका अभियुक्तहरुलाई पक्राउ गरिने सरकारले पीडित पक्षसित सहमति गरेको १ महिना नबित्दै यादवलाई पक्राउ गरिएको छ । प्रहरीको फरार सूचीमा उनको नाम रहे पनि यादव यथार्थमा फरार भएका थिएनन्

। रौतहट राईस मिलको घटनाको मुख्य अभियुक्त बनाइएका उपेन्द्र यादवलाई पक्राउ गरी मुद्दा चलाउन पूर्व माओवादी नेता समेत रहेका आम जनता पार्टी(आजपा)का अध्यक्ष प्रभु साह लगायतले आन्दोलन चलाएका छन् ।

सभासद यादवलाई पक्राउ गरी गौर घटनाका अभियुक्तहरुलाई समेत पक्राउ गर्ने सरकारले संकेत गरेको जसपाका नेताहरुको बुझाइ रहेको छ । तर यस सम्बन्धमा जसपाका नेताहरुले मुख खोल्न चाहेका छैनन् ।

Comment


Related News

Latest News

Trending News