अपडेट 
२०८० भाद्र २०, बुधबार ०७:४९

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कानुनको आडमा जिल्लाहरुमा प्रशासनिक आतंक मच्चाइएको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले आरोप लगाएको छ ।

पार्टीको मधेश प्रदेशको विस्तारित बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री समेत रहेका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले कानुनको आडमा धम्काउने, अनेक प्रकारको त्रास देखाउने काम प्रशासनबाट भइरहेको आरोप लगाएका छन् । ‘कानुनको आडमा प्रशासनले आतंक मच्चाएको छ ’ उनले भने, कानुन बमोजिम पीडितलाई न्याय दिनुपर्छ, धाकधम्की दिएर अर्को अनुचित काम गराउन हुँदैन् ।‘मिटरब्याजीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन कानुन बनाइएको छ ’ उनले भने, अनावश्यक रुपमा कसैमाथि प्रशासनले दबाब दिनु हुँदैन् ।

कानुनको कार्यान्वयन त्यसको भावना र मर्म अनुसार नै हुनुपर्नेमा उनले जोड दिए । कानुन निर्माणमा संसदमा लोसपाले समर्थन जनाएको उल्लेख गर्दै उनले भने, पीडितलाई न्याय दिनका लागि कानुन बनाइएको हो । लोसपाको मधेश प्रदेशको विस्तारित बैठकले अनुचित लेनदेन कानुनको नाममा आतंक मच्चाइएकाले त्यसलाई रोक्न पहल गर्ने निर्णय गरेको बताइएको छ । सो बैठकमा संघीय सरकारका श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीको पनि सहभागिता रहेको थियो ।

लोसपा संघीय र प्रदेश दुबै सरकारमा रहेको छ । अनुचित लेनदेन सम्बन्धी उजुरीको फछ्र्यौटमा केही हप्तादेखि कमी आएको छ । राजनीतिक दबाब बढेसँगै सहमतिमा लेनदेन सम्बन्धी विषय टुंग्याउन कठिनाइ भइरहेको अधिकारीहरु बताउँछन् ।तर लेनदेन सम्बन्धी उजुरीको आधारमा फछ्र्यौट गर्न दलालहरु खटाइएको आरोप ऋणी र साहुकार दुबैले लगाउने गरेका छन् । अदालतबाट आउने निषेधाज्ञा र प्रशासनले साहुलाई पक्राउ नगर्ने कार्य रोक्नुपर्ने भन्दै मिटरब्याज पीडितहरुले सडकमा जुलुस जारी नै राखेका छन् । प्रशासनले अनावश्यक दबाब दिने काम नसच्याए विरोधमा उत्रने चेतावनी अध्यक्ष सोनलले दिए ।‘प्रशासनिक आतंकको विरोधमा हामी अगाडि आउने छौ’ उनले भने, कानुनको आडमा नागरिकलाई त्रसित बनाउने काम राज्यबाट हुनु हुँदैन् ।

अध्यक्ष सोनलले जन्मसिद्धका सन्तानले नागरिकता पाएकोमा खुशी जनाउँदै भने, सरकारले नियमावली बनाएर आमाको नामबाट पनि नागरिकता उपलब्ध गराउने प्रकृया सुरु गर्नुपर्छ । सरकारले मधेश केन्द्रित दलहरुको दबाबमा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने कानुन बनाएर सहज गरिदिएको छ । तर आमाको नामबाट नागरिकता दिने नियमावली नबनाउँदा समस्या आएको सोनलले बताए । आमाको नामबाट पनि नागरिकता दिन सरकारसित उनले माग गरे ।

मधेश प्रदेशको सत्तासाझेदार लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले प्रदेश सरकारमा ब्यापक बेथिति रहेको आरोप लगाउँदै प्रदेशमा सरकार रहेको अनुभूति नागरिकलाई गराउन नसकेको बताए ।‘सरकार गठन भएको ९ महिना बितिसक्दा पनि उल्लेखनीय काम हुन सकेको छैन्’ उनले भने, प्रदेशमा अनावृष्टि, अतिवृष्टि, बाढी पहिरोको समस्या विकराल बनेको छ । पिउने पानीको प्रदेशमा चरम संकट देखिन थालिएको उल्लेख गर्दै उनले भने, त्यसका लागि चुरेको संरक्षणका लागि तीनै तहको सरकारले ठोस कार्यक्रम ल्याउनु पर्छ ।

सांगठनिक रुपमा रुग्ण भइसकेको लोसपाले फेरि त्यसलाई जीवन्तता दिन ‘आर टू’ कार्यक्रम ल्याएको अध्यक्ष सोनलले बताए । संगठनको सबै निकायलाई पुनरावलोकन र पुनर्गठन (रिभ्यू एण्ड रिफर्म)गर्न बुथ समिति सम्म पुग्ने उनले बताए । लोसपामा लामो समयदेखि महाधिवेशन भएको छैन् ।केन्द्रीय समिति पूर्ण छैन् ।

Comment


Related News

Latest News

Trending News