अपडेट 
२०८० भाद्र २०, बुधबार ०७:५२

मधेश प्रदेशका स्वतन्त्र सभासद अनिरुद्ध प्रसाद सिंह यादव निलम्बनमा परेका छन् ।

जिल्ला अदालत सप्तरीले उनलाई मंगलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । प्रदेश सभा सचिवालयले उनी थुनामुक्त नभएसम्म निलम्बनमा नै रहने जनाएको छ । मंगलवार बिहान नै सचिवालयले यादवलाई पक्राउ गरिएको सूचना टाँस गरेको थियो । अदालतको आदेशमा उनलाई राजविराजस्थित कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले जनाए ।

सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गर्दा एकदिनको म्याद थप गरिएको थियो ।

अदालतमा सोमवार भएको थुनछेक बहसपछि यादवलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको छ । वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या गरिएको थियो । जिल्ला अदालत सप्तरीमा सो मुद्दाको दर्ता नम्बर १३१–२०६३/०६४ रहेको छ । १७ वर्षपछि यादवलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

स्थानीय बासिन्दाहरुका अनुसार हाल सम्म यादव फरार भएनन् । मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित ९ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि यादव फरार थिए । २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । उनी फरारको सूचीमा रहे पनि प्रत्यक्ष चुनाव लडेर प्रदेश सभामा चुनाव जितेका हुन् ।

Comment


Related News

Latest News

Trending News