अपडेट 
२०८० भाद्र २१, बिहीबार ०७:५७

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाण्डुमा दिनदहाडै ज्यान मार्ने गरी आक्रमण भएको छ । नेता यादवमाथि राजावादी बताउने एकजनाले धारिलो हतियारले आक्रमण गरेका छन् ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबमा बुधवार भएको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा पछाडिबाट धारिलो हतियार (खुकुरी)बाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताएका छन् । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भइ बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको उनले जनाएका छन् ।

धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको छ । घाइते भएका यादवलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो ।उपचारमा संलग्न डा.प्रमोद यादवका अनुसार यादवको टाउकोको पछाडि गंभीर चोट लागेको छ ।‘यादवको घाउलाई सफा गरी टाँका लगाइएको छ ’डा.यादवले भने, तत्काल उनी खतरामुक्त रहेका छन् । उपचारमा संलग्न डा.यादवका अनुसार सहमहामन्त्री यादवमाथि दुई पटक खुकुरी प्रहार भएको छ ।

पहिलो पटक घाँटीमा प्रहार गर्दा उनको घाँटीमा रहेको गमछाले रोक्दा सामान्य घाउ लागेको बताउँदै डा.यादवले भने, दोस्रो पटक टाउकोमा जोडले प्रहार गरिएको छ । यादवको टाउकोमा ६ सेन्टिमिटर लामो र २ सेन्टिमिटर गहिरो घाउ रहेको डा.यादवले बताए । तेस्रो पटक खुकरी प्रहार गर्न लाग्दा प्रत्यक्षदर्शीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

यादवमाथि ज्यान लिने उदेश्यले आक्रमण भएको घटना प्रवृत्तिले देखिएको डा.यादवले बताए । उनको सघन उपचार कक्ष(आईसीयू)मा उपचार भइरहेको छ । अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले जनाएका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा ट्रमा सेन्टर पुगेर यादवको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । उनले उपचारमा संलग्न चिकित्सकहरुसित घाउबारे जानकारी लिएका थिए ।

घटनामा संलग्न अपराधीलाई कानुन बमोजिमको हदै सम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । रिर्पोटर्स क्लवमा आयोजित कार्यक्रममा कांग्रेसका सहमहामन्त्री यादवसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री तथा सांसद धवल शम्सेर राणा पनि रहेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार यादव र राणासँगै निस्केका थिए ।

यादव आफ्नो गाडीमा चढन लाग्दा पछाडिबाट सापकोटोले टाउकोमा खुकुरीले प्रहार गरेका थिए । पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनी आफूलाई अभियन्ता भन्ने गरेका छन् ।

आक्रमणपछि सापकोटाले राजाको पक्षमा नाराबाजी गर्दै संघीयता र गणतन्त्रको विरोध गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । रिर्पोटर्स क्लवको साक्षात्कार कार्यक्रममा कांग्रेसका सहमहामन्त्री यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणबारे आफ्नो धारणा राखेका थिए ।

स्पष्ट वक्ताको रुपमा परिचित नेता यादवले कार्यक्रममा झण्डै आधी घण्टा आफ्ना विचार राखेका थिए । यादवले चिनिया राजदूतको नेपाल सम्बन्धी पछिल्लो अभिव्यक्तिको कडा आलोचना गरे । ‘नेपाल र भारतबीचको सम्बन्धबारेमा चीनलाई बोल्ने अधिकार छैन्’ उनले भने, नेपाल र भारतबीचको सदियौ पुरानो सम्बन्धलाई भ्रमित गर्न चीनको प्रयास सफल हुन सक्दैन् । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिइ घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायत कांग्रेसका भातृ संगठनहरुले पनि घटनाको भत्सर्ना गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । नेविसंघले गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

Comment


Related News

Latest News

Trending News