अपडेट 
२०८० भाद्र २२, शुक्रबार ०८:१८

वीरगञ्ज महानगरपालिकाले बिहीबार थप २ वटा कलेजमा सिलबन्दी गरेको छ ।

शैक्षिक संस्थाहरुलाई नियमन गर्न अनुगमनका क्रममा अनुमति नलिएर सञ्चालनमा रहेका २ वटा कलेजमा महानगरपालिकाले सिलबन्दी गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम पब्लिक कलेज र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित पर्सा म्यानेजमेन्ट कलेजमा महानगरले सिलबन्दी गरेको महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवले जानकारी दिए । वीरगञ्ज ८ पानीट्याङ्की स्थित एन्जल इन्टरनेशनल स्कुलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले बताए ।

सत्यम कलेजले रानीघाट स्थित शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको भेटिएको छ । एन्जल इन्टरनेशनल स्कुल एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले सञ्चालन गर्दै आएका छन् । निजी शैक्षिक संस्थाहरुको छाता संगठन र शैक्षिक संस्थाहरु नियमअनुरुप सञ्चालन हुनुपर्छ भनेर आवाज उठाउनेहरु नै गैर कानुनी रुपमा फर्जी कलेज सञ्चालन गरिरहेको भेटिएको छ ।

एनप्याब्सनसँग आवद्ध जिम्मेवार व्यक्तिले नै आफ्नो विद्यालयले लिएको कक्षा ११ र १२ को अनुमति आर्थिक लाभका लागि अन्यलाई बिक्री गरेर सञ्चालन गरेको भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो अवस्था रहेको शिक्षा महाशाखाका अधिकृत नारायण चापागाईले बताए । महानगरले शिक्षा क्षेत्र सुधारका लागि अहिले कडा रुपमा प्रस्तुत भएर अनुगमन र कारबाही दुबैलाई सँगसँगै अघि बढाएको भन्दै उनले अब कुनै पनि बहानामा अनाधिकृत रुपमा सञ्चालनमा रहेका शैक्षिक संस्थालाई नछाडिने चेतावनी पनि दिए ।

समितिका संयोजक यादव नेतृत्वको अनुगमन टोलीले बिहीबार नै न्यू वेभ एकेडेमीले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै अन्य ठाउँमा नाम समेत परिवर्तन गरेर विद्यार्थी भर्ना गर्दै कक्षा सञ्चालन गरिरहेको पर्सा म्यानेजमेन्ट कलेजमा पनि सिलबन्दी गरेको छ । समितिले यस अघि मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमी र युनिभर्सल प्लस टु कलेजमा सिलबन्दी गरेको थियो ।

सोमवार अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।

Comment


Related News

Latest News

Trending News