अपडेट 
२०८० भाद्र २४, आईतवार १२:१९

मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। २ हजार भन्दा बढी घाइते भएका छन्।

मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार १ हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन्। भूकम्पका कारण माराकेशको दक्षिणी प्रान्त सबैभन्दा बढी मानवीय क्षति भएको छ।

भूकम्पका कारण अकल्पनीय जन–धनको क्षतिका बीच राजा मोहम्मद छैठौंले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। राजाले बाँचेकाहरूलाई आश्रय, खाना र अन्य मद्दतको आदेश दिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा धेरैले खुल्ला ठाउँमा रात बिताइरहेका छन्।

शुक्रबार ६.८ म्याग्निच्युडको भूकम्पले माराकेशसहित अन्य धेरै शहरहरूमा संरचनाहरु भत्किएका छन्। दुर्गम पहाडी क्षेत्रका सबै गाउँ समथल भएका बताइएको छ।

भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर टाढा, दक्षिण-पश्चिमी एटलस पर्वतमा थियो। तर भूकम्पको धक्का करिब ३५० किलोमिट टाढा राजधानी रबात, कासाब्लान्का, अगादिर र एसाउइरामा पनि महसुस गरिएको थियो।

भूकम्पले यहाँका भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाे छ भने मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट यहाँका हजारौं संरचनाहरु ध्वस्त भएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत पुरानो शहर माराकेशमा भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मृत्यु हुनेको संख्या निकै कम छ।

भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये एक हजार ४ सय ४ जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ । पहाडी गाउँमा माटोको इँटा, ढुङ्गा र काठका धेरै  घर भत्किएको अनुमान गरिएको छ। यद्यपि दुर्गम क्षेत्रमा कति क्षति पुगे भन्ने अनुमान गर्न केही समय लाग्ने अनुमान छ।

भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत सङ्कलन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो। यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६‍.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला यहाँ ६ सय ३० जनाको मृत्यु भएको थियो।  भूकम्पलगत्तै मानिसहरु सडकमा बसिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News