अपडेट 
२०८० भाद्र २५, सोमबार ०८:१०

सर्लाही जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साहले दुई वटा नागरिकता लिएको आरोप लागेको छ ।

कीर्ते गरी नागरिकतामा १० वर्ष उमेर थपेको आरोप लागेको साह विरुद्ध प्रहरीले जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी गराएको छ । इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउको अनुमति दिएको छ । अध्यक्ष साह विरुद्ध रामआधार रायले भदौ १८ गते जाहेरी दर्ता गराएपछि २१ गते सर्लाही जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जनाइएको छ । गाउँपालिका अध्यक्ष साहले छुट्टाछुट्टै नागरिकता नै लिएपछि उनीमाथि उजुरी दिएको जनाउँदै रायले भने, उजुरी दर्ताकै लागि ठूलो समस्या भएको थियो ।

पालिकाले उपलब्ध गराएको मोबाइलको स्विच बन्द गरी साह सम्पर्क बाहिर रहेका छन् । उनी शुक्रवारदेखि पालिकामा गएका छैनन् । साहको घर पालिका कार्यालयको छेउमा नै रहेको छ ।

तीन वर्ष देखि नै साहउपर नागरिकता कीर्तेको मुद्दा दर्ता गराउन रायले इलाका प्रहरी कार्यालय बरहथवामा निवेदन दिन खोजे पनि दर्ता गरिएको थिएन् । तर रायले हिम्मत नहारी उच्च अदालत जनकपुरधाममा निवेदन दर्ताको परमादेश लिएर इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दर्ता गराएका छन् । ‘ उच्च अदालतले परमादेश जारी गरेको ८ महिनापछि मात्र निवेदन दर्ता भएको हो ’ रायले भने, लामो प्रयासपछि भदौ १८ गते इलाका प्रहरी कार्यालयले निवेदन दर्ता गरेको छ । ‘अध्यक्ष साह उपर जाहेरी दर्ता भएर पक्राउ पुर्जी जारी भइसकेको अवस्था छ ’ रायले भने, साह कार्यालयमा नगए पनि पालिका भित्रै रहे पनि प्रहरीले पक्राउमा चासो देखाएको छैन् ।

धनकौल गाउँपालिकाका अध्यक्ष साहले पहिलो पटक लिएको नागरिकतामा उल्लेख भएको उमेर भन्दा दोस्रो पटक लिएको नागरिकतामा १० वर्ष बढाएको देखिन्छ ।उनले १० वर्ष उमेर बढाएर लिएको नागरिकता प्रमाण पत्रको आधारमा ज्येष्ठ नागरिक (समाजिक सुरक्षा )भत्ता पनि लिइरहेको आरोप रायले लगाएका छन् ।

वृद्ध भत्ता खानकै लागि उनले आफ्नो उमेर १० वर्ष बढाएर नागरिकता लिएको रायको दाबी छ ।’आफैं गाउँपालिका अध्यक्ष भएपछि उनले आफ्नै नागरिकता कीर्ते गरेका हुन्, फरक–फरक नागरिकता नम्बर र नागरिकतामा उल्लेख गरिएको उमेर नै प्रस्ट प्रमाण रहेको रायले बताए । परमादेशको आदेशपछि जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्चार्ज डीएसपी लीलाराज लामिछानेले बताएका छन् । ‘अदालतको परमादेशसहित जाहेरी दर्ताका लागि निवेदन आएकाले भदौ १८ गते जाहेरी दर्ता गरिएको छ,’ लामिछानेले भने, ‘हामीले दर्ता गरेर पक्राउ अनुमति पनि लिएका छौं । तर, पक्राउ भने गर्न सकेका छैनौं ।’

अध्यक्ष साहलाई पक्राउ गर्न अदालतको आदेश प्राप्त भइसके पनि जिल्ला प्रहरी कार्यालयसित समन्वय गरी अगाडि बढ्ने उनले बताए । गाउँपालिकाका उपाध्यक्ष अकली सहनीले अध्यक्ष साहलाई पक्राउ गर्ने पुर्जी जारी भएको सुनेको बताउँदै उनले भनिन् , तीन दिनदेखि अध्यक्ष जी कार्यालयमा आउनु भएको छैन् । तर अध्यक्ष साहले आफूलाई बदनाम गराउन केही मानिस लागिपरेको बताएका छन् ।‘ पहिलो नागरिकता हराएपछि दोस्रो नागरिकता लिएको छु’ उनले भने, तर पुराना नागरिकताको फोटो कपी कुनै कार्यालयबाट प्राप्त गरी अनावश्यक बिबाद सृजना गर्न खोजिएको छ । उनले आफू फरार नरहेको बताउँदै पालिका र जनताको काममा सक्रिय रहेको बताए ।

रामआश्रय साह नेपाली कांग्रेसको टिकटबाट ४ हजार ४ सय ७७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादी केन्द्रका ३ हजार ३ सय ७८ मत प्राप्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News