अपडेट 
२०८० भाद्र २६, मंगलवार ०७:३९

रौतहट जिल्लाको गौर राईस मिलमा १७ वर्ष अघि भएको घटना तत्कालीन माओवादी नेता प्रभु साह को दम्भ र माओवादी पीडितहरुको आक्रोश को उपज रहेको बताइएको छ ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिले सोमवार जनकपुरधाममा आयोजना गरेको ‘गौर घटना : यथार्थ र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले गौर घटनामा जनता समाजवादी पार्टी(जसपा) को कुनै संलग्नता नरहेको दाबी गरे । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त बताएर समाजमा भ्रम सृजना नगर्न प्रभु साह लागेको उनीहरुले बताए ।‘ फोरमको कार्यक्रम बिथोल्न साहले बाहिरबाट सशस्त्र माओवादी कार्यकर्ताहरुलाई ल्याएका थिए’ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मो.लालबाबु राउतले भने, साहकै उन्मादले गौर घटना भएको हो ।

केन्द्रीय निर्णय अनुसार एक महिना अघि नै गौरको राईस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भए पनि प्रभु साहले आफ्नो दम्भ देखाउन सोही ठाउँमा कार्यक्रम गर्ने ढिपी कसे पछि घटना भएको राउतले तर्क दिए । विभिन्न स्थानमा फोरमको विरोध सभा विथोलेको माओवादीले गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिरबाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गराएको राउतले बताए ।

माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको राउतले जिकिर गरे । माओवादी पीडित स्थानीयहरुले प्रतिकार नगरेको भए फोरमका नेता कार्यकर्तालाई ठूलो क्षति बेहोर्नु पर्ने निश्चित रहेको घटनाका प्रत्यक्षदर्शी शिवलाल पटेलले बताए ।‘आधुनिक हतियारले सुसज्जित माओवादी लडाकुहरु बस सहितै राईसमिल नजिक पुगेका थिए ’ उनले भने, बसबाट हतियार सहित उत्रेका माओवादी लडाकुहरु राईसमिलमा जान अल्मलिए लगतै माओवादी पीडितहरुले हतियार खोस्दै आक्रमण गरेका थिए ।

१७ बर्ष पुरानो घटनालाई उचालेर पुनः संघीयतालाई संकटमा पार्न खोजिएको भन्दै वक्ताहरुले शासक वर्गलाई कुनै प्रकारको कारबाही थालिए माओवादीमाथिको मुद्दा पनि उप्काउनु पर्नेमा जोड दिए । बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व मन्त्री शैलेन्द्र साह, प्राध्यापक, शिक्षक, पत्रकार, कानुन व्यवसायी लगायतका बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News