अपडेट 
२०८० भाद्र ३०, शनिबार ०८:३०

जनकपुरधाम उप– महानगरपालिकाको लापरबाहीले शुक्रबार जनकपुरधाम–२५ लोहनामा एक अबोधले ज्यान गुमाउनु परेको छ ।

उप–महानगरको वडा नं.२५ लोहनामा खेल्ने क्रममा एक अबोधको नालामा खस्दा मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५, केउटानी टोलका रञ्जित मुखिया र पुनिताका छोरा रोहनको शुक्रबार बिहान घरअगाडिको ढलान सडकमा नाली निर्माणका क्रममा बनाइको चेम्बरमा जमेको गहुँत र पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रम अन्तर्गत साढे तीन सय मिटर सडक लोहनामा ढलान गरिएको थियो । तर, बनेको सडकमा बनाइएको चेम्बरको खाल्डोमा ढक्कन लगाइएको छैन् । उक्त सडक संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाको कार्यालयबाट ५० लाख रुपैयाँ बजेटमा ढलान भएको थियो ।

चेम्बरसहित १६ फिट चौडाइ र साढे तीन सय मिटर लम्बाइ भएको उक्त सडक निर्माण गर्न स्थानीयबासी शम्भु मण्डलको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो । संघीय आयोजना कार्यान्वयन इकाइ धनुषाका अनुसार सडक ढलान र चेम्बरको ५१ वटा ढक्कन बापतको भुक्तानी भएको छ । उक्त सडकका साइट सवइन्जिनियर मनोज मण्डलका अनुसार ढक्कनसमेत लगाएपछि योजनाको भन्डै ४७ लाख रूपैयाँ भुक्तान भएको छ । उनले भने, ‘उपभोक्ता समितिमा विवाद भयो । विवादले गर्दा ढक्कन निकालेर घरमा लगेको होला । काम भइसकेपछि मात्रै सबै भुक्तानी दिइएको छ ।’

टोलबासीका अनुसार चेम्बरमा कहिल्यै ढक्कन लगाइएको छैन् । सुरूदेखि नै सबै चेम्बर खुला छन् । ठेकेदारले सबै ढक्कन दुई वर्षदेखि आफ्नै घरको छतमा राखेका छन । दाजुभाइ रहेका उपभोक्ता समितिका अध्यक्ष र ठेकेदारले आफ्ना घरअगाडि तीन वटा चेम्बरमा ढक्कन लगाएका छन् । अरू चेम्बर खुलै छाडेका छन् ।

ठेकेदारका अनुसार उपभोक्ता समितिका सल्लाहकार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का स्थानीय नेता कौशल चौधरीले ढक्कन लगाउने पैसा आफूसँग राखेर काम नगरेका हुन् । ‘मैले ३० वटा ढक्कन किने तर कौशलले पैसा दिएनन् । त्यसैले ढक्कन आफ्नो घरमा राखेको छु । साढे तीन लाखभन्दा धेरै पैसा उनैले राखेका छन्,’ उनले भने, ‘कौशलले पैसा नदिएपछि गाउँमा छलफल समेत भएको थियो । उनले एक–डेढ महिनाभित्र सबै काम सक्ने र पैसा पनि दिने भनेर विश्वास दिलाए तर पैसा दिएनन् ।’ तर, जनकपुरधाम उप महानगरपालिकाले यस विषयमा भने कुनै चासो राखेको छैनन् ।

नेपाली कांग्रेसका वर्तमान सह–महामन्त्री खानेपानी मन्त्री हुँदा जनकपुरधामका लागि दुई सय १० करोडको योजना दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड र मधेश प्रदेशका तत्कालीन गृह मन्त्री ज्ञानेन्द्र यादवबीच जनकपुरधामको एक कार्यक्रममा विवाद हुँदा उनकै बुहारी वीना मगर (तत्कालिन खानेपानी मन्त्री)ले यहाँका त्यो योजना चितवन पठाएका थिए । तर, मन्त्रालयका सचिव ठाकुरले केही रकम आफ्नो वडामा ल्याएका थिए ।

तत्कालीन नगरप्रमुख लालकिशोर साहले सो योजना तदारुकताका साथ लिएका थिए तर वर्तमान मेयर मनोज साहले भने एक पटक घुमेर नआएको आपूmहरुले पटक पटक यस विषयमा जानकारी दिँदा पनि मेयर साहवले कुनै चासो नलिएको स्थानीबासीहरुको गुनासो छ । जनकपुरधाममा लोकप्रियताका लागि ठाउँ ठाउँमा ढलान सडक गर्ने गरेका छन् चेम्वर बनाउने गरेका छन् तर, चेम्बरमा ढक्कन भने लगाउँदैनन् । जवकी सडक ढलान हुने बेलामानै चेम्बरमा ढक्कन लगाउने इस्टीमेट गरिएको हुन्छ ।

जनकपुरधाम उप–महानगरपालिकाका २५ वटै वडामा अहिले निर्माण हुने ढलान सडकमा रहेको चेम्बर खुल्लानै रह्ने गरेका कारण सामान्य दुर्घटना दिनहुँजसो हुने गरेका छन् । तर, शुक्रबारको घटनाले भने सबै पक्षको लापरबाही उजागर गरेको छ । आफ्ना आसेपासे र नातागोतालाई सडक निर्माणको कोटेशन, उपभोक्ता समिति, ठेक्का दिने परिपाटीका कारण जनकपुरधाम उप–महानगरमा यस्तो बेथिति दिन प्रतिदिन बढ्दै गएको छ ।

अहिले जनकपुरधाम उप–महानगरका प्रमुख मनोजकुमार साह आफ्ना नातागोता तथा आसेपासे बाहेक खुल्ला प्रतिस्पर्धाबाट काम वितरण गर्न बन्द गरेका छन् । खुल्ला प्रतिस्पर्धा नहुँदा काम पनि कमसल हुने गरेको जनकपुरधाम–१२ का रामपुकार साहले बताए । उनले मेयर साहबाट आम सर्वसाधारण आजिज भइ सकेका छन् उनलाई जनताले विश्वास गरेर मत दिए तर उनी चेम्वरको ढक्कन समेत जनकपुरधामबासीलाई दिन नसक्नु दुःखद रहेको बताए ।

Comment


Related News

Latest News

Trending News