अपडेट 
२०८० आश्विन ७, आईतवार ०८:२०

मधेश विश्वविद्यालयमा आगामी मंसिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु हुने भएको छ ।

विश्वविद्यालयका अनुसार कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको नाम दर्ता भइरहेको र आउँदो मंसिर ४ गतेदेखि पठनपाठन सञ्चालन हुने छ । विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले कानुन सङ्कायतर्फ बीए एलएलबीमा भर्ना हुने विद्यार्थीको छनोट प्रवेश परीक्षा (इन्ट्रान्स)माध्यमबाट गरिएको र इन्ट्रान्सबाट छनोट भएका विद्यार्थीको यही असोज १५ गतेसम्म नाम दर्ता हुने बताए । अहिलेसम्म ७०–८० विद्यार्थीले नाम दर्ता गराइसकेको उनले जानकारी दिए ।

विद्यार्थी छनोटका लागि ८० पूर्णाङ्कको मौखिक र २० पूर्णाङ्कको अन्तर्वार्ता परीक्षा लिइने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा अध्ययनका लागि कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको परीक्षामा न्यूनतम ५० प्रतिशत वा सी प्लस अङ्क ल्याएको हुनुपर्ने मापदण्ड तय गरिएको छ । मधेश विश्वविद्यालयलाई कानुन सङ्कायतर्फ एक सय १०, जनप्रशासनतर्फ ५५ वटा कोटा निर्धारण गरिएको छ । पठनपाठनका लागि मधेश विश्वविद्यालयद्वारा गठित पाठ् यक्रम विकास समिति र काठमाण्डु विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको जनाइएको छ ।विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा यी दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको बुझिएको छ ।

त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाई समेत अघि बढाएको छ । गत २०७९ वैशाख १४ गते मधेश प्रदेशसभाद्वारा मधेश विश्वविद्यालय ऐन, २०७९ जारी भइ २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ । पोलिटेक्निक, आइटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङलगायतका प्राविधिक शिक्षाको माध्यमबाट प्रदेशलाई प्राविधिक शिक्षा ‘ हब’का रूपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपिआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News