अपडेट 
२०८० आश्विन ९, मंगलवार ०७:०५

समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादवले गौर घटनासंग जोडेर पार्टी विरुद्ध षड्यन्त्र भए देशव्यापी आन्दोलनको आंधी–बेहरी ल्याउने चेतावनी दिएकी छन् ।

समाजवादी महिला संघ सप्तरीद्वारा राजविराजमा सोमबार आयोजित जिल्ला स्तरीय विस्तारित बैठकमा उनले यस्तो चेतावनी दिँदै गौर घटना विशुद्व राजनीतिक घटना भएको दाबी गरिन् । राजनीतिक अधिकार प्राप्तिका लागि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले रौतहटको गौरमा १७ बर्ष अगाडि आमसभा आयोजनाको तयारी गरेकामा तत्कालीन माओवादी नेता प्रभु साहले फोरमको सभा विथोल्न आक्रमण गराउन लगाएपछि दुःखद गौरघटना हुन पुगेको उनले बताइन ।

गौर घटनाको समयमा जसपा अध्यक्ष उपेन्द्र यादवसहितका जसपा नेताहरु आम सभामा उपस्थित नै नभएको चर्चा गर्दै उनले घटनामा संलग्न नभएका निर्दोष नेता कार्यकर्ताहरुलाई फसाउने प्रयास भए देशव्यापी आन्दोलनको आंधि बेहरी सिर्जना हुने चेतावनी दिइन् । उनले दोषी उम्कन नपाओस र निर्दोष नफसोस भन्ने जसपाको गौर घटनाप्रतिको धारणा रहेको समेत उल्लेख गरिन । पार्टी प्रति भएको देशी–विदेशी आक्रमणको प्रतिकार स्वरुप मुलुकभर पार्टीको मूल समिति तथा भातृसंगठनको आन्दोलनको प्रारुप तयारीका लागि विस्तारित बैठक भइरहेको बताउँदै उनले आन्दोलनको तयारीका लागि वडा स्तरसम्म संगठन विस्तार तथा अभियान संचालन गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिइन् ।

जनता समाजवादी पार्टी मधेश प्रदेशका मुख्यसचिव दिनेश कुमार यादवले आगामी २०८४ सालको चुनावी तयारीको साथै पार्टी प्रशिक्षण र संगठन निर्माण कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । प्रदेश सभा सदस्य किरण कुमारी साहले सबैसित समन्वय, सहकार्य र सहयोग लिएर संगठन विस्तार र जनताको समस्या हल गर्ने तर्फ अग्रसर हुन सुझाव दिइन् । जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवले उच्च मनोबलको साथ पार्टी तथा महिला संगठन निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरे ।

समाजवादी महिला संघ मधेश प्रदेश अध्यक्ष संजिला यादवले महिला र पुरुषको समन्वयबाटै अधिकार सुनिश्चितताको संघर्षमा सफलता मिल्ने बताइन् । गौर घटनासंग जोडेर अनावश्यक पार्टी विरुद्ध भ्रम सिर्जना गराइएको बताउँदै उनले गौर घटनामा जसपा निर्दोष रहेको विभिन्न प्रतिवेदनबाट पुष्टि भएको हुँदा घटनाको यथार्थता र भ्रम चिर्न निरन्तर जनजागरण अभियान सञ्चालनमा जोड दिइन् ।

समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिलादेवी साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गीतादेवी यादव, महिला नेता पुनम यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङ, जसपा नेता लक्ष्मण यादव, समाजवादी महिला संघ प्रदेश सदस्य कल्पना कुमारी चौधरी, सीता साह, सावित्री पण्डित, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, समाजवादी महिला संघ सिरहाकी अध्यक्ष जानकीदेवी यादव, राजगढ गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डलले मन्तव्य व्यक्त गर्दै अधिकार सुनिश्चितताका लागि आन्दोलनको विकल्प नरहेको बताए ।

Comment


Related News

Latest News

Trending News