अपडेट 
२०८० आश्विन ९, मंगलवार ०७:१४

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन कञ्जुस्याईं गर्न नहुने बताएका छन् ।

उनले स्थानीय र प्रदेश सरकार बलियो भए संघीयता बलियो हुने बताए । महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका छन् । उनले संघीयतालाई कार्यान्वयनमा लैजान स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउनै पर्ने बताए । उनले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्नेमा चुनौती रहेको समेत बताए ।

राष्ट्रपति पौडेलले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याईं गर्नु नहुने बताए । उनले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याईं गर्न नहुने बताउँदै संघीयता अनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताए ।

राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेशवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको बताउँदै संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गरे । “हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भइ सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ”, उनले भने,“सङ्घीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ । उहाँहरुले चाहेमा देश बदलिन्छ, संविधान र सङ्घीयता कार्यान्वयन हुन्छ ।” त्यसैगरी उनले देशको कुनै पनि जायज नागरिक नागरिकताविहीन नरहुन् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रूपले कानुनी राज्य र सामाजिक न्यायको परिकल्पना आफूले गरेको र त्यसैकारण नागरिकता लिनबाट बञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउन नागरिकता विधेयकको प्रमाणीकरण गरेको स्पष्ट पारे ।

एक अर्को प्रसंगमा राष्ट्रपति पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेशमा नेपालको राष्ट्रियताको चुरो रहेको बताए । “नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता वीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेशमा रहेको छ भन्नेमा सधैँ दृढ छु”, उनले भने, “यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन् । त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु ।” अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुन नसक्ने भन्दै उनले मधेशका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गरे । “अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेशको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिलाइ गर्नु हुन्न ।

नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेश प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो । त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

Comment


Related News

Latest News

Trending News