२०८० आश्विन १२, शुक्रबार १७:२५

जनकपुरधाममा गौ हत्या विरुद्ध विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दू परिषद्ले गौ हत्या विरुद्ध शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास बैष्णवको अध्यक्षतामा शुक्रबार जानकी मन्दिरको प्राङ्गणबाट हजारौंको संख्यामा हिन्दूवादीहरुले विरोध जुलुस निकालेका छन ।

विगत केही दिनदेखि देशका विभिन्न ठाउँमा गौ हत्या भइ रहँदा पनि सरकार मूक दर्शक भएर बसेको भन्दै परिषद्ले सरकारको ध्यानाकर्षणका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले बताए ।

गाई नेपालको राष्ट्रिय जनावरको रुपमा रहेको र गाईलाई हिन्दू धर्मावलम्बीले आमाको रुपमा परापूर्वकाल देखिनै मान्दै आएका कारण केही अतिबादीहरुले हिन्दू सनातनधर्ममाथि प्रहार स्वरुप गौ हत्या गर्ने गरेको उनले आरोप लगाए । मुलुकलाई धर्म निरपेक्ष बनाउनुनै सनातनीहरुमाथिको पहिलो आक्रमण थियो तर, अब हिन्दूहरु जागरुक भइसकेको उनले बताए ।

सामाजिक सञ्जालमै आफूहरुले गाई काटेर खाएको अभिव्यक्ति दिनेलाई सरकारले कारबाही गर्न नसक्नु सनातनीहरुकोलागि दुःखद रहेको उनले धारणा राखेका थिए ।

Comment

Related News

Latest News

Trending News