अपडेट 
२०८० आश्विन १३, शनिबार ०७:३२

सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख गुप्ता र इन्जिनयर रामचन्द्र साहलाई शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गुप्ता र साहलाई ६/६ महिना कैद र ७०/७० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । गुप्ता भ्रष्टाचारी ठहर हुने सप्तरीका दोस्रो नगर प्रमुख हुन् ।

यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दाका आशिंक रुपमा आरोप ठहर गरेको थियो । नगरप्रमुख गुप्ता २०७९ फागुन १७ गतेदेखि निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गुप्ताविरुद्ध रिसवत लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगरप्रमुख गुप्ता निलम्बित भएका थिए ।

नगरप्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहको मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको थियो । नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण एैन,२०५९ को दफा ३ को उपदफा (१) को कसुरमा आरोपपत्र दायर गरिएपछि उनी निलम्बित भएका थिए ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले २०७९ माघ ३ गते इन्जिनयर साहलाई एक लाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगरप्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाइ विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

दुबै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुरमा बिगो एकलाख ४० हजार कायम गरि भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफा ३ को उपदफा(१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । यस्तै अख्तियारले भ्रष्टचार मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह र बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव निलम्बित छन् ।

Comment


Related News

Latest News

Trending News