अपडेट 
२०८० आश्विन १६, मंगलवार १५:५८

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले खुकुरी प्रहार आरोपमा पक्राउ परेका श्यामबहादुर सापकोटालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्‍युतमणि न्यौपानेले जानकारी दिए। सापकोटालाई केन्द्रीय कारागार पठाइएको उनले जानकारी दिए ।

सापकोटाले भदौ २० गते दिउँसो काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए।

क्लबमा साक्षात्कार कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा बोल्न सहमहामन्त्री यादवलाई बोलाइएको थियो। श्यामबहादुर सापकोटा पनि कार्यक्रममा बसेर नेताहरूको भाषण सुनिरहेका थिए।

भाषण चित्तबुझ्दो नभएको भन्दै उनले खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

‘कार्यक्रममा यादवले मन्तव्य राख्ने क्रममा ललिता निवास जग्गा प्रकरणणमा मुछिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बालकृष्ण खाण, टोपबहादुर रायमाझी समेत निर्दोष रहेको अभिव्यक्ति दिएकाले मलाई असहय भई रहेको थियो,’ सापकोटाले बयानमा भनेका छन्।

कार्यक्रमस्थलबाट बाहिरिएपछि भने सहमहामन्त्री यादवको पछि लागेर टाउकोमा टाकेर दुई पटक खुकुरी प्रहार गरेको बताएका छन्। तेस्रो पटक प्रहार गर्दा भने उनलाई अरूले नियन्त्रणमा लिएको पनि उनले बताए।

खुकुरी प्रहारबाट सहमहामन्त्री यादव घाइते भएका थिए। उनलाई ट्रमा अस्पतालमा लगिएको थियो।

यस प्रकरणमा प्रहरीले श्यामबहादुर सापकोटालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दर्ता गरेको थियो।

Comment


Related News

Latest News

Trending News