अपडेट 
२०८० आश्विन १७, बुधबार १३:०७

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिवद्धताप्रति सबै इमानदार बन्नुपर्ने धारणा राखे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पारे । ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमानदार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ’, उनले भने ।

उनले एकीकृत समाजवादीले असोज १४ गतेदेखि झापाको मेचीनगरबाट सुरु गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News