अपडेट 
२०८० आश्विन २०, शनिबार ०८:४२

मधेश प्रदेशमा सरकार गठन भएको वर्ष दिन नपुग्दै सातौं पटक मन्त्रीमण्डल पुनर्गठन भएको छ । बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई खेलकुद तथा समाजकल्याण मन्त्री बनाइएको छ ।

सामाजिक विकास मन्त्रालय टुक्रयाएर शिक्षा र स्वास्थ्य मन्त्रालय बनाइएपछि साह बिना विभागीय भएकी थिइन् । छैठौं पटक मन्त्रीमण्डल पुनर्गठन हुँदा साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको थियो । शिक्षा तथा समाजकल्याण मन्त्रालयमा रहेका खेलकुद तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी साहले पाएकी छन् । शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी महेश यादवले पाएका छन् । यस अघि उनी शिक्षा तथा समाजकल्याण मन्त्री रहेका थिए ।

साह पछिल्लो ४ महिनादेखि बिना विभागीय मन्त्री रहेकी थिइन् । स्वतन्त्र रुपमा निर्वाचित भएकी साह जसपामा प्रवेश गरिसकेकी छन् । उनको मन्त्रालय खोसेर जनमत पार्टी संसदीय दलका नेता यादवलाई दिएको थियो । सातौं पटक भएको पुनर्गठनमा साहले यादव मन्त्री रहेकै शिक्षा तथा समाजकल्याण फुटाएर मन्त्रालय पाएकी छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलवार नै साहलाई विभाग तोकेपनि प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले उनी शुक्रबार मात्र मन्त्रालयको पत्र पाएकी छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले साहलाई मन्त्रालयको जानकारी टेलिफोनमा दिएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरि शंकर मिश्रले शुक्रबार विज्ञप्ति प्रकाशित गरी कार्यविभाजन सार्वजनिक गरेका छन् । मधेश प्रदेशमा फेरि एउटा मन्त्रालय बढेको छ । तर त्यसबाट जनमत पार्टी असन्तुष्ट देखिएको छ । मुख्यमन्त्री यादवले मनपरी ढंगले मन्त्रालयहरुको विभाजन र विभाग परि वर्तन गरिरहेको आरोप जनमतले लगाएको छ । मुख्यमन्त्रीले मनपरी ढंगले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा मन्त्री यादवले असन्तुष्टि व्यक्त गरेका छन् । ‘ मन्त्रालय फुटाउने प्रस्ताव बुधबारको क्याबिनेट बैठकमा आएको थिएन् ’ मन्त्री यादवले भने, मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्रीले चोरबाटोबाट त्यसो गरेका छन् । ‘ म समेत रहेको क्याबिनेट बैठकमा मन्त्रालय फुटाउने विषयमा अनौपचारिक चर्चा समेत भएन्’ यादवले भने, मन्त्रालय फुटाएर बनाइएको कार्यविधि क्याबिनेटबाट पारित गर्नुपर्छ । तर त्यसो नभएको उनले दाबी गरे । ‘ मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव आएकै थिएन’, उनले भने ‘मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ । कसरी गर्नुभयो उहाँलाई नै थाहा होला । गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन ।

क्याबिनेट बैठक भएकै दिन मुख्यमन्त्री भारततर्फ गएका छन् । उनी पारिवारिक कार्यले भारत जानु परेको मुख्यमन्त्री तथा मन्त्रिपरि षदको कार्यालय स्रोतले जनाएको छ । मन्त्रालय फुटाउँदा आफूसित कुनै छलफल नभएको जनाउँदै असन्तुष्ट बनेका मन्त्री यादवले भने, मुख्यमन्त्रीले एकलौटी गरेको निर्णय बारे पार्टीको शीर्ष नेतृत्वलाई जानकारी गराइसकेको छु । पार्टीले लिने निर्णय अनुसार आफू अगाडि बढ्ने उनले बताए । मुख्यमन्त्री सरोज कुमार यादवले शपथ लिएकै दिन जनमत पार्टीबाट मन्त्रीले शपथ लिएका थिए ।

मधेश प्रदेश सरकारमा जनमत कोटाबाट २ जना मन्त्री छन् । जनमतका नेता चन्दन सिंह श्रम तथा यातायात मन्त्री छन् । यादवले शिक्षा मन्त्रालय पाएका छन् । मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ लिएका जनमत पार्टीका नेता वसन्त कुशवाहालाई सर कारबाट हटाइसकिएको छ । कृषिमन्त्री रहेका कुशवाहालाई केही समय बिना विभागीय मन्त्री राखेर पछि हटाइएको थियो । प्रदेशमा सबैभन्दा ठूलो मन्त्रालय नै शिक्षा तथा समाजकल्याण रहेकाले खेलकुद तथा समाजकल्याण मन्त्रालय फुटाएर बिना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री निकटका नेताहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News