अपडेट 
२०८० आश्विन २२, सोमबार ०८:१४

शारीरिक रुपमा अशक्त एक शिक्षकले आफूलाई पालिकाको तर्फबाट राजीनामा दिन दबाब दिइरेहेको गुनासो पोखेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहामा लामो समयदेखि कार्यरत ५८ वर्षीय शिक्षक रामबिलास पण्डितले यस्तो गुनासो पोखेका छन् । नगरपालिकाको मातहतमा रहेको उक्त विद्यालयका उनी स्थायी शिक्षक हुन् । शारीरिक असक्तताका कारण उनी ह्वील चेयरको प्रयोग गरी शिक्षण पेशालाई निरन्तरता दिँदै आएका छन् ।

सेवा निवृत हुन डेढ वर्ष मात्र बाँकी रहँदा राजीनामा दिन नगरपालिकाले दबाब बढाउँदै लगेपछि उनी थप पीडामा परेका छन् । नगरपालिकाले आफूमाथि पूर्वाग्रह राखेर हाजिरीसँगै तलबमा समेत रोक लगाएको उनको कथन छ । २०७९ कात्तिकदेखि रोकिएको तलब शिक्षक महासंघको पहलमा २०८० बैशाखसम्मको भुक्तानी गरिए पनि त्यसपछि तलब र हाजिरी गर्न दुबै रोकिएको उनको भनाइ छ । उनले भने, “यतिसम्म गर्दा गर्दै अब राजीनामा गर भनेर दबाब दिन समेत थालिएको छ ।”

नेपाल सरकारले अपाङ्गमैत्री विद्यालय बनाउन भने पनि यहाँ अपाङ्ग भएकै कारण पूर्वाग्रही भएर जागिर नै खोस्न लागेको उनले पीडा पोखे । ‘मलाई ढाड र खुट्टामा चोट लागेकोले तीन बर्षदेखि उपचाररत छु, खुट्टाले अपाङ्ग भए पनि घरबाटै ह्वील चेयर प्रयोग गरी विद्यालय गइ दैनिक पठनपाठनको काम गर्दे आएको छु तर विद्यालयका प्रअ सत्यनारायण पासवानले पनि सहयोग गर्नुको सट्टा नगरप्रमुख र विद्यालय निरीक्षकसँग मिलेर मलाई जागिरबाट जसरी पनि हटाउने रणनीतिमा लागेर थप पीडा दिएको छ ।’

यता डाक्नेश्वरी नगरपालिकाले २०८० भदौ २७ गते शिक्षक पण्डितको नाउँमा तलव भत्ता रोक्का र हाजिरी रोक्का राख्न विद्यालयलाई पत्राचार गरेको छ । ‘डाक्नेश्वरी नगरपालिका शिक्षा समितिको २०८० बैशाख १२ गतेको निर्णय अनुसार राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहामा कार्यरत शिक्षक रामविलास पण्डित पूर्णरुपमा अपाङ्ग भएको तथा कक्षाकोठामा शिक्षण सिकाइ कार्य गर्न नसकिने अवस्थामा रहेको साथै हिँडडुल तथा उठ्न बस्न तथा शिक्षण सिकाइसँग सम्बन्धित कुनै किसिमको क्रियाकलाप गर्न नसकिने अवस्थामा रहेकोले शिक्षक पण्डितलाई यस नगरपालिकाबाट पाउने सेवा सुविधा उपलब्ध नगराउने तथा विद्यालयको कामकाजमा नलगाउने निर्णय भएको र उक्त निर्णयको मिति २०८० बैशाख १५ मा नगरकार्यपालिका बैठकबाट समेत अनुमोदन भएको हुनाले शिक्षा समितिको निर्णय बमोजिम कार्यान्वयन गर्न आदेशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादवले डाक्नेश्वरी नगरपालिका क्षेत्राधिकार बाहिर गएको बताए । उनले स्थायी शिक्षकलाई जवर्जस्ती राजीनामा गराउने अधिकार नगरपालिकासँग नरहेको प्रतिक्रिया दिए । ‘अपाङ्ग भएकै कारण सेवाबाट हटाउन पाउँदैन, विशेष प्रकृतिका शिक्षकलाई अपाङ्ग मैत्री विद्यालय बनाएर सुविधा दिनुपर्नेमा यहाँ त उल्टै क्षेत्राधिकार बाहिर गएको देखियो’ यादवले भने । विद्यालय निरीक्षक कृष्णप्रसाद यादवले हामीले राजीनामा गर्न दबाब नदिएको तर, शिक्षा समिति र कार्यपालिकाको निर्णय अनुसार हाजिरी र तलव रोकेको बताए । ‘स्थायी शिक्षकको राजीनामा लिने अधिकार पालिकासंग छैन्, हामीले दबाब पनि दिएको छैन’ उनले भने । राष्ट्रिय प्राथमिक विद्यालय पट्टी प्रवाहाका प्रअ सत्यनारायण यादवले आफूले राजीनामा गर्न नभनेको तर पालिकाबाट आएको पत्रानुसार हाजिरी र तलव रोकिएको प्रतिक्रिया दिए ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले शिक्षक पण्डित पूर्ण अपाङ्ग रहेको र पढाउन सक्ने अवस्थामा नरहेकोले उनको हाजिरीसँगै तलव भत्ता रोकिएको जानकारी दिए । उनले कुनै गलत भावनाबाट यस्तो नगरेको बताउँदै अध्ययन अध्यापन नै गर्न नसकिने अवस्थामा रहेको शिक्षक पण्डितका कारण विद्यालय ठप्प हुँदै आएकोले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए । ‘उनको खुट्टा चल्दैन कक्षामा गएर पढाउन सक्ने अवस्थामा छैन् । बालबालिकाको शैक्षिक भविष्य अन्धकारमा राख्न मिल्दैन, उनले भने राजीनामा दिएर शैक्षिक वातावरण सहज गर्न शिक्षक पण्डितको पनि जिम्मेवारी हो ।”

Comment


Related News

Latest News

Trending News