अपडेट 
२०८० आश्विन २४, बुधबार ०६:४२

मधेश प्रदेशको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ मधेश प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

पारिवारिक कारणले भारतमा रहेका मुख्यमन्त्री सरोज कुमार यादव फर्के लगतै मंगलबार मृतक साहका परिवारलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् । मुख्यमन्त्री यादव मंगलबार जनकपुरधाम फर्केका छन् ।

यादवले जारी गरेको विज्ञप्तिमा इजरायलमा ‘लर्न एण्ड अर्न’का लागि गएका साह समेत १० जना नेपालीको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् । इजरायल पुगेको २६ दिनमा नै प्यालेष्टाइनी आक्रमणमा परी ज्यान गुमाएका साहको आत्माको चिरशान्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना मुख्यमन्त्री यादवले प्रकट गरेका छन् । असह्य पीडाको घडीमा प्रदेश सरकारको सहानुभूति र सद् भाव साहपरिवारसित रहेको उनले जनाएका छन् ।

कृषि क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन साहको अध्ययनले महत्वपूर्ण योगदान पुग्ने थियो । कृषि विज्ञ बन्ने उनको सपना अधुरो रहँदा मधेश प्रदेशलाइ अपुरणीय क्षति भएको यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् । इजरालयबाट शव चाँडो ल्याउन संघीय सरकारसित पहल गर्ने उल्लेख गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले भने, इजरायलमा रहेका अन्य नेपालीहरुको चाहना अनुसार सरकारले स्वदेश फिर्ताका लागि ठोस पहल गर्नु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News