अपडेट 
२०८० आश्विन २९, सोमबार ०८:४५

विगतका ४ दशकदेखि जनकपुरधाममा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा लाग्दै आएको दशैं बजार (सस्तो बजार) यस वर्ष पनि शुरु भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा आइतबार दशैं बजारको मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले शुभारम्भ गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको बजारमा १ सय भन्दा बढी स्टलहरु रहेको दशैं बजार मूल समितिका अध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । यस पटकको दशैं बजारमा केही काठमाण्डौका व्यापारीहरुले पनि स्टल बुक गराएका अध्यक्ष महासेठले बताए ।

गोपाल धर्मशालाको मूल भवन तथा बाहिर आकर्षक पण्डालको निर्माण गरेर दशैं बजारको व्यवस्थापन गरिएको छ । दशैं बजारमा खास गरेर स्वदेशमा उत्पादन भएको दैनिक उपभोग्यका सामग्री, खाद्यान्न, प्लाष्टिकका सामान, अगरवत्ती, चियापत्तीको बिक्री अत्यधिक हुने गरेको छ । व्यापारीहरुले थोक मूल्यमा खुद्रा बिक्री गर्ने भएकाले दशैं बजारबाट कतिपय सामानहरु उपभोक्ताले वर्ष भरिका लागि भण्डारण गर्ने गरेका छन् । दशैं बजारबाट सामानहरु खरिद गर्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, सिन्धुली तथा उदयपुरलगायतका उपभोक्ताहरुसमेत आउने गरेका छन् । बजारको शुभारम्भ गर्दै मधेश प्रदेशका अर्थमन्त्री यादवले बजारले मन्दी अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

दशैं बजारमा सामानहरुको गुणस्तर तथा तौलमा विशेष ध्यान दिनका लागि आग्रह गरे । मन्त्री यादवले प्रदेश सरकारलाई संघीय सरकारको कुल बजेटको १.९० प्रतिशत मात्र रहेकाले यसबाट प्रदेशबासीको अपेक्षा अनुसार काम गर्न कठिनाइ हुने गरेको बताए । उनलेले मुलुकमा आर्थिक मन्दी आउनुमा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह नगर्नु, विगतमा आयात रोक्नु, जग्गाको कित्ताकाटमा रोक लगाउनुका साथै मिटर ब्याजको नाउँमा हुने गरेको त्रासका कारणले गाउँघरमा आर्थिक कारोबार ठप्प भएको दाबी गरे ।

मिटर ब्याजको नाउँमा ऋणको लगानी नभएपछि पनि आर्थिक शिथिलता गाउँहरुमा देखिएको मन्त्री यादवको भनाइ थियो । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, पूर्व संघीय सांसद प्रमोद कुमार साह र जनकपुरधा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश चन्द्र साहले धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News