अपडेट 
२०८० कार्तिक २, बिहीबार ०८:०२

पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा परिवर्तन आए पनि जनताको पक्षमा काम गर्नका लागि केही सुधारको अझै आवश्यकता रहेको बताएका छन् ।

बुधबार राजविराजमा आयोजित वरिष्ठ राजनीतिज्ञ एवं गणतान्त्रिक आन्दोलनका अग्रणी नेता खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोह कार्यक्रममा उनले यस्तो बताएका छन् । तराई मधेशमा अहिले पनि दाइजो प्रथा कायमै रहेको, गर्नुपर्ने काममा खर्च नगर्ने तर, नगर्नुपर्ने काममा खर्च गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले यस्ता कुराहरुमाथि पनि सुधारको आवश्यकता रहेको औंल्याए । उनले कुनै पनि राजनीतिक दल चुरे जोगाउन र पानीको स्रोत संरक्षण गर्नेतर्फ गम्भीर नभएको समेत बताए । उनले काँग्रेस, एमाले, माओवादी तथा मधेशवादी सबै दलहरु चुरे जोगाउन उदासीन रहेको बताउँदै अब पनि चुरेको संरक्षण नगरिए पानी बिना माछा झै अवस्थामा पुग्ने जनाए ।

मधेश सुनको भूमि भएको बताउँदै उनले पटक पटक आफूले चुरे भावर र जंगल क्षेत्र जोगाउन आग्रह गरिरहँदा पनि सरकार र दलहरु गम्भीर हुन नसकेकोमा खिन्नता प्रकट गरे । २००७ सालदेखि ६२ को जनआन्दोलसम्मको सम्पूर्ण क्रान्तिमा वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको सक्रिय योगदान रहेकोमा उनलाई आफूले नागरिक अभिनन्दन गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आम नेपालीमा सकारात्मक सोच आवश्यक भएको बताउँदै नेपाली राजनीतिको जिउँदो इतिहास मण्डल भएको चर्चा समेत गरे । पूर्वसभामुख दमननाथ ढुंगानाले खुशीलाल मण्डल लोकतन्त्रको पक्षमा अटल योद्धाको रुपमा रहेको भन्दै प्रजातन्त्र प्राप्तिको आन्दोलन र उनको निष्ठा अनुकरणीय रहेको बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका सांसद डा. सीके राउत, दिनेशकुमार यादव, नवलकिशोर साह, शेखरकुमार सिंह, मधेश प्रदेश सांसदहरु जितेन्द्र सोनल, ललिता विद्रोही तत्मा, जिल्ला विकास समितिका पूर्वसभापति बीरबल बिराजीलगायतले पनि मण्डलको योगदान बारे प्रकाश पारेका थिए । सप्तरी–सिरहा नागरिक समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष रामरिझन यादवले मण्डलको व्यक्तित्व बारे लेखिएको “कर्मवीर योद्धा खुशीलाल मण्डल अभिनन्दन ग्रन्थ” पुस्तककोसमेत विमोचन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News