अपडेट 
२०८० कार्तिक ३, शुक्रबार ०७:४३

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरप्रतिको असन्तुष्टि बिहीबार राजविराजको शुभकामना आदानप्रदान कार्यक्रममा पोखेका छन् ।

पार्टी अध्यक्ष ठाकुरले गत महिना गरेको पार्टी पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै नेता महतोले भने, पार्टी पुनर्गठनमा ठाकुरजीले गडबड गर्नुभयो । केन्द्रीय समिति पुनर्गठनमा अध्यक्ष महन्थ ठाकुरले गडबड गरेको आरोप लगाउँदै महतोले भने, ६३ जना पदाधिकारी रहेको पार्टीमा १६ जना महासचिव राखिनु हास्यास्पद छ ।‘कार्यसमिति पुनर्गठनप्रति मेरो असन्तुष्टि छ’ नेता महतोले भने, केन्द्रीय कार्यसमिति सरसल्लाहबाट विस्तार हुनुपर्नेमा त्यसो भएन् ।

लोसपा सप्तरीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता महतोले पार्टी केन्द्रीय समिति पुनर्गठन गर्ने अधिकार आफूहरुले अध्यक्ष ठाकुरलाई दिँदा उनले गडबड गरेको आरोप लगाए । ’मैले पार्टी बैठकमा पनि यो कुरा राखेको छु,’ वरिष्ठ नेता महतोले भने, ’गडबडी अब सुधार गरेर अगाडि बढ्नुपर्छ ।’ केन्द्रीय समितिको महासचिवमा मनोनित भएका महतोका ज्वाई युवा नेता अनिल महासेठले असन्तुष्टि जनाउँदै पद अस्वीकार गरिसकेका छन् । ६३ पदाधिकारीमा १६ महसचिव राखिदा यो कस्तो पार्टी हो भन्ने चौतर्फी आलोचना भइरहेको उल्लेख गर्दै उनले भने, ती सबै गडबडी हटाउँदै पार्टी सुदृढीकरण गर्दै एकताबद्ध भइ अगाडि बढनुपर्छ ।

आमनिर्वाचनमा सर्लाहीबाट पराजित भएका महतो पार्टीमा आफ्नो विशिष्ट भूमिका बनाउन सक्रियता बढाएका छन् । लोसपामा महतोले कार्यकारी भूमिका चाहे पनि ठाकुर कार्यकारी भूमिका छाडने पक्षमा छैनन् । कांग्रेस पार्टी छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी( तमलोपा)को अध्यक्ष भएदेखि ठाकुर निरन्तर लोसपासम्म अध्यक्ष नै रहेका छन् । तर उनले पार्टीको महाधिवेशन कहिल्यै गराएका छैनन् । ‘अधिकार र पहिचानका लागि छठपछि निर्णायक आन्दोलन हुने छ ’ उनले भने, अबको लडाइँ नै अन्तिम लडाइँ हुने छ ’। त्यसका लागि शक्ति सञ्चय गर्न कार्यकर्तालाई उनले आग्रह गरे ।

लोसपाको केन्द्रीय समिति पुनर्गठन भएपछि पहिलो पटक नेता महतो संघीय राजधानी बाहिरको पार्टी कार्यक्रममा सहभागी भएका छन् । लोसपामा अध्यक्ष ठाकुरपछिको वरियतामा रहेका महतो जस्तै वरिष्ठ नेता शरतसिंह भण्डारी र अनिल कुमार झा पनि रहेका छन् । झालाई ठाकुरले पुनर्गठनमा वरिष्ठ नेता बनाएका छन् ।

Comment


Related News

Latest News

Trending News