अपडेट 
२०८० कार्तिक ३, शुक्रबार ०७:४९

रौतहटको एक पालिकामा मेयर र उपमेयरले छुट्टाछुट्टै हाकिम हाजिर गराएका छन् । जिल्लाको वृन्दावन नगरपालिकामा बिहीबार एकै दिन दुई जना हाकिम हाजिर भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र स्वास्थ्य क्षेत्रका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले दुबै जना बिहीबार वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखमा हाजिर भइ कार्यभार सम्हालेका छन् । पहिला मेयर विनोद प्रसाद कुर्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत पटेललाई कार्यालय प्रमुखको रुपमा हाजिर गराएका थिए ।

मेयर कुर्मीले निमित्त प्रशासकीय अधिकृत पटेललाई हाजिर गराएको केही घण्टा नबित्दै उपमेयर संगीता देवी रामसहित केही वडा अध्यक्षहरुले उपसचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हाजिर गराएका थिए । नेपाली कांग्रेसका पूर्व मेयर रामस्नेही यादव, नेकपा एमालेलगायत दलका नेताहरुको साथ र सहयोगमा उपमेयर रामले प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई हाजिर गराएकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते वृन्दावन नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी उपसचिव प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । सामान्य प्रशासन मन्त्रालयले प्रधानलाई वृन्दावनको कार्यालय प्रमुखको जिम्मेवारी असोज २६ गते नै तोके पनि विभिन्न कारणले उनी कार्तिक १ गतेसम्म पनि हाजिर हुन सकेनन् । मन्त्रालयले प्रधानलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको एकसाता बित्न नपाउँदै कार्तिक १ गते फेरि प्रधानको जिम्मेवारी खोस्दै उनको ठाउँमा सोही नगरपालिकामा कार्यरत नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह अधिकृत स्तर छैटौं तहका कर्मचारी रासनारायण पटेललाई वृन्दावनको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

पटेललाई पनि नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य हेर्ने गरी जिम्मेवारी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि कार्तिक १ गतेदेखी लागु हुने गरी दुई महिनासम्मका लागि मात्र पटेललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ । मन्त्रालयले दिएको जिम्मेवारीकै आधारमा पटेललाई मेयर विनोद प्रसाद कुर्मीले भव्य स्वागत गर्दै कार्यालयमा हाजिर गराएका हुन । तर उपमेयरलेसमेत अर्को हाकिम प्रधानलाई हाजिर गराएपछि विवाद उत्पन्न भएको छ भने अर्को तर्फ अब आधिकारीक हाकिम कसलाई मान्ने वा कुन हाकिम रहने, नरहने भन्ने विषयमा समेत अन्योलता उत्पन्न भएको छ ।

हाकिम लगायतको विषयलाई लिएर मेयर कुर्मी र उपमेयर रामबीच पटक पटक विवाद हुँदै आएको छ । मेयर र उपमेयरले आआफनो अनुकूलका हाकिम राख्न चाहेकोले विवाद चर्किदै गएको छ । जसका कारण बिहीबार जिल्लामै पहिलो पटक वृन्दावनमा एकै पटक दुई जना हाकिम हाजिर भएका छन् । मेयरले ल्याउने हाकिमलाई उपमेयरले नमानी आफ्नै अनुकूलका हाकिम राख्न खोजेका कारण वृन्दावन नगरपालिका विगत तीन महिनादेखि प्रशासकीय अधिकृतविहीन रहँदै आएको थियो ।

Comment


Related News

Latest News

Trending News