अपडेट 
२०८० कार्तिक १९, आईतवार ०७:२७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भीसी)का लागि सबै आवेदक ९ जनाको नाम अन्तर्वार्ता( इन्टभ्यू)का लागि सिफारिस भएको छ ।

भीसीका लागि ९ जना चिकित्सकले आवेदन दिएका छन् । शनिबार उनीहरुको भावी कार्यको रुपरेखा प्रस्तुतिकरणको कार्यक्रम राखिएको थियो । त्यसमा सबै उम्मेदवार उत्तीर्ण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सबै चिकित्सकहरु योग्य देखिएका छन् । सबैको प्रस्तुतिकरण अत्यन्त प्रशंसनीय रहेको बताइएको छ । कार्ययोजना समेतको प्रस्तुतिकरणमा योग्य देखिएका सबै चिकित्सकहरुको बुधबार अन्तर्वार्ता हुने भएको छ ।

भीसी छनोट समितिले अन्तर्वार्तामा उत्तीर्ण हुने तीन जनाको नाम नियुक्तिका लागि कुलपति रहेका मुख्यमन्त्री सरोज कुमार यादवमा सिफारिस गर्नेछ । उपकुलपति यादवले तीन जनामध्ये १ जना उपयुक्त उम्मेदवारलाई भीसीमा नियुक्त गर्ने छन् । भीसीका लागि उम्मेदवारी दिनेमा मधेश प्रदेश सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवका सम्धि डा.विश्वनाथ यादव पनि छन् । हाल उनी वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा फरेन्सिक विभागका प्रमुख हुन् । उनकी छोरी अध्यक्ष उपेन्द्र यादवकी एकमात्र बुहारी छिन् ।

डा.यादवलाई भीसी नियुक्ति गर्ने पक्षमा अध्यक्ष उपेन्द्र यादव र ज्वाई अमरेन्द्र यादवसमेत नरहेको बुझिएको छ । सम्धिलई नियुक्ति गर्दा राजनीतिक विवादमा पर्ने उच्च जोखिमको मुल्यांकन गर्दै अध्यक्ष यादव स्वतन्त्र रुपमा नै भीसी चयन हुनुपर्ने धारणा व्यक्त गर्न थालेका छन् । कार्यपत्र प्रस्तुतिकरणमा सबै डाक्टर अब्बल देखिए पनि भीसीको अन्तिम छनोटमा ६ जना अयोग्य ठहरिनेछन् । उपकुलपतिलाई भीसी नियुक्तिको सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस समिति गठन गरेको छ ।

सो समितिले गरेको सिफारिस भित्रका ३ जनामध्ये १ जनालाई भीसी नियुक्ति गर्नुपर्ने उपकुलपतिको बाध्यात्मक व्यवस्था ऐनमा रहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधनपछि सरकारले अर्को भीसी नियुक्ति गर्न थालेको छ । प्रतिष्ठानमा झण्डै १ वर्षदेखि भीसी छैनन् । डा.साहको निधन भएको ३ महिना मात्र भए पनि उनी बिरामी भएदेखि गत वर्षको कात्तिकदेखि कार्यालय राम्ररी जान सकेका थिएनन् । तर उनले राजीनामा पनि नगरेका कारण भीसी नियुक्त हुन सकेको थिएन् । भीसी डा.साहको देहावसान भएको ३ महिना बितिसकेपछि नयाँ भीसी नियुक्तिको प्रक्रिया अगाडी बढाइएको छ ।

नयाँ भीसी नियुक्तिका लागि कार्यपत्र प्रस्तुति शनिबार सम्पन्न भइसकेको छ । बुधबार अन्तर्वार्ताको तिथि निर्धारण गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना सम्धिलाई बनाउन चासो नदेखाएपछि हाल रेक्टर रहेका डा.अंकुर साह अग्रपङतीमा देखिएका छन् । काठमाण्डुको मेडिकल काउन्सिल लगायत स्वास्थ्य शिक्षासित सम्बद्ध सरकारी संस्थाहरुमा प्रभाव बनाएका डा. साहको रेक्टरमा नियुक्ति गरिएको थियो । तर उनी रेक्टरको कार्यकाल बाँकी रहँदा नै भीसीका लागि सरकारले खुल्ला गरेको विज्ञापनमा प्रतिस्पर्धी बनेका छन् । रेक्टरमा डा.साहको भूमिका लोकप्रिय हुन सकेन् । तर भीसीमा उनी सबैभन्दा सशक्त उम्मेदवार मानिएको छ । डा.साह भीसीमा पक्का हुने बताइएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सम्धि विश्वनाथ यादवलाई सहयोग नगर्ने निश्चित भएसँगै डा.साहको नियुक्तिलाई पक्कापक्की मानिएको छ । उच्चस्रोतका अनुसार काठमाण्डुको एउटा होटेलमा भीसीका लागि ४ करोडको डिलिंग भएको बताइएको छ । त्यति बढी रकम एकजना भन्दा बढीले तत्काल तिर्न सक्ने अवस्था रहेको छैन् । प्रदेश सरकारको पूर्ण स्वामित्वमा गठन भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएपछि भीसीका लागि समेत चासो बढेको छ ।

प्रतिष्ठानको प्रमुख अस्पतालको रुपमा नै प्रादेशिक अस्पताललाई सरकारले उपलब्ध गराएको छ । तर अस्पतालमा कार्यरत्त अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी र रोगीका कुरुवाहरुले समेत प्रतिष्ठानबाट अस्पताललाई अलग्याउनु पर्नेमा जोड दिइरहेका छन् । त्यसका लागि अस्पतालमा कयौं पटक आन्दोलन पनि भइसकेको छ । मधेश प्रदेस सरकार द्विविधामा रहेको बताइएको छ । अस्पताललाई प्रतिष्ठानबाट अलग्याउँदा बिरामीहरुले समुचित स्वास्थ्य उपचार अझ सस्तोमा पाउने दाबी स्वास्थ्यकर्मीहरुले गर्दै आएका छन् ।

अस्पताल अलग भए स्थानीय बासिन्दाहरुले मधेश प्रदेश सरकारकै स्वामित्व भएको दुई फरक र विशेषज्ञ समेतको अस्पतालबाट सेवा पाउन सक्ने छन् । प्रतिष्ठानको भीसी नियुक्तिलाई राजनीतिक र सामाजिक क्षेत्रमा अत्यन्त चासोका साथ हेरिएको छ । ४ करोडमा नियुक्ति हुने अथवा सामान्य लेनदेनको आधारमा नियुक्ति हुने त्यो हेर्न अझै केहीदिन प्रतीक्षा गर्नुपर्ने भएको छ । मधेश प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहले यस सम्बन्धमा मुख खोलेका छैनन् । तर उनी पनि अस्पताललाई प्रतिष्ठानबाट अलग राख्ने मनस्थितिमा पुगेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News