अपडेट 
२०८० कार्तिक १९, आईतवार १५:४२

आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेकाे छ । सुपर ओभरमा ओमानले दिएकाे २२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १० रनमात्र बनाउन सक्याे ।

आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम ओभरमा ८ रन चाहिएकाे अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेकाे हाे । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।

नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ रनले पराजित भएको थियो । यस्तै नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै दाेस्राे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे । नेपाल यसअघि सन् २०१४ मा टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।

समूह चरणमा सबै खेल जितेकाे ओमानले सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा छनाेट भएकाे थियाे । ओमानले यसअघि सन् २०१६ र २०२१ मा टी–२० विश्वकप छनाेट खेलिसकेकाे छ ।

Comment


Related News

Latest News

Trending News