अपडेट 
२०८० कार्तिक २२, बुधबार ०८:२५

चाडबाडका बेला जनकपुरधामलगायत मधेश प्रदेशका बजार भरिभराउ छन् । सडकहरुमा सवारीको चापसँगै सर्वसाधारणसम्मको चाप बढेको छ । तर, व्यवसाय भने चौपट छ । बजारमा भीडभाड देखिए पनि पसलहरु भने सुनसान छन् । दशैंको बेला पनि यस्तै देखिएको थियो । दिवाली र छठसम्म केही सुधार हुने अपेक्षा व्यवसायीहरुको थियो । तर, दिवाली आउन तीन दिनमात्र बाँकी रहेको बेला पनि बजारमा खासै परिवर्तन आएको छैन् ।

व्यवसायीहरु अझै पनि ग्राहकको पर्खाइमा छन् । विहान ८ बजे सटर उठाएदेखि बेलुकासम्म बोहनी भए ठूलो कुरा हुने व्यवसायीहरुको कथन छ । दुई चार हजारको बिक्री भएपछि राम्रो दिन रहेको भने महसुस गरिरहेको व्यवसायीहरु बताउँछन् । जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह भन्छन्–‘ मधेश प्रदेशमा जेठ महिना देखिनै समस्या बढेको छ, त्यसतर्फ ध्यान केन्द्रित हुनसकेन् । संघीय सरकारले मिटर ब्याजी सम्बन्धी कानुन ल्याएदेखि नै समस्या थप जटिल भएको छ ।’ उनले भने–‘७० प्रतिशत सर्वसाधारण गाउँघरमै लेनदेन गरेर आफ्नो समस्या समाधान गर्ने गरेका थिए तर, जुन दिनदेखि मिटर ब्याजको हल्ला चल्यो र सरकारले कानुन ल्यायो त्यो दिनदेखि गाउँघरमा हुने लेनदेन बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भने बजारमा परेको छ ।’ गाउँघरको इकोनोमिकल सिस्टम खराब भएका कारणले पनि जनकपुरधामको बजारमा प्रत्यक्ष प्रभाव परेको उनको भनाइ छ ।

बजारमा भीडभाड रहे पनि किनमेल नहुँदा व्यवसायीहरु विदेशिनु परेको पीडा पनि व्यवसायीहरु सुनाउँछन् । जनकपुरधामका व्यवसायीहरु विदेशिएपछि यहाँका सटरहरु खाली भएका छन् । केही वर्ष पहिला मात्रै जनकपुरधामका सटरहरुकालागि लाखौं रुपैयाँ एडभान्स दिइने गरिन्थ्यो । अहिले अवस्था फेरिएकाले मासिक भाडा लिएर भए पनि सटर लिनेको पर्खाइमा घरमुलीहरु रहेको उनीहरु सुनाउँछन् । उनीहरु खुल्ला सीमा नाका रहेका कारण यताको ग्राहकहरु भारतीय बजारमा गएर किनमेल गरेको प्रभाव पनि जनकपुरधामको बजारमा परेको बताउँछन् । अर्थविद भोगेन्द्र झा भन्छन्–‘ बजार कन्ट्रोलमा नरहेका कारण यहाँको व्यवसायीलाई समस्या भएको छ । बजारमा एकरुपता आउनुपर्छ ।

१० किलोमिटरको फरकमा रहेको भारतीय बजारमा नेपालमा खरिदारी गर्नुभन्दा सस्तो मूल्यमा सामान पाउने भएका कारण सर्वसाधारण उता जाने भएकाले यता समस्या भएको छ ।’ जनकपुरधामको बजारमा एउटा सानो सामान खरिद गर्दा सीमा नाकामा रहेको बजारमा यहाँ भन्दा कम्तीमा सय रुपैयाँ सस्तो हुने भएकाले यताका खरिदारहरु उत्ता जाने गरेको उनको भनाइ छ । छठपछि मंसिरमा विहेबारीको समय आउँदैछ । त्यसमा थप कठिनाइ हुने भएको छ । विहेबारीमा दुई चार लाख रुपैयाँ स्थानीय स्तरमै लेनदेन गरेर काम गर्ने गरेका थिए । तर, गाउँघरमा मान्छेले पैसा लेनदेन बन्द गरेका छन् , त्यसको प्रभाव भने बजारमा पर्ने सम्भावना बढेको छ ।

छोराछोरीको विहेबारी सर्वसाधारण बैंकबाट लोन नलिई गर्दथे, गाउँघरमै लेनदेन गरी काम गर्ने गरेका थिए तर, अब गाउँघरमा लेनदेन बन्द भएपछि त्यसको मार पनि बजारमा पर्ने देखिएको व्यवसायीहरुको गुनासो छ । वीरगञ्जको माईस्थानमा कपडा पसल सञ्चालन गर्दै आएका व्यापारी अनिलकुमार गुप्ताले पसलमा ग्राहक आउनै छाडेको बताए । उनले महंगीका कारण ग्राहकहरु किनमेलका लागि रक्सौल जाने गरेको गुनासो गरे । उनले यही अवस्था रहे, आगामी दिनमा पसल बन्द गरी पलायन हुने बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिदा उपभोक्ताको भान्सा नराम्ररी प्रभावित भएको छ । मन्दीको कारण खाद्य सामाग्रीमा भएको मूल्यवृद्धिले मारमा परेको स्थानीयहरुले बताएका छन् । विगतका चाडपर्वको बेला खुशीको माहोल हुने गरेकोमा यसपटक व्यवसायीहरुमा खासै उत्साह देखिएको छैन् ।

Comment


Related News

Latest News

Trending News