अपडेट 
२०८० मंसिर १, शुक्रबार ०७:३०

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको विकास निर्माणका कार्यलाई तीव्रता दिने भएको छ । छठ पर्व लगतै रातो किताबमा प्रकाशित योजनाहरुको काम धमाधम थालिने मुख्यमन्त्री सरोज कुमार यादवले जनाएका छन् ।

चालु आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि प्रदेश सरकारको काम सुरु भएको छैन् । आर्थिक वर्षको समाप्ति हुनलाग्दा उपभोक्ता र टेण्डरमार्फत काम हुँदा भुक्तानी समस्या, काममा अनियमितता, गुणस्तरमा समस्या आउने गरेको छ । ‘सबै मन्त्रालय मातहतको विकास निर्माण सम्बन्धी कार्यहरुको टेण्डर लगायतका प्रक्रिया छठको विदा लगतै सुरु हुनेछ’ मुख्यमन्त्री यादवले भने, समयमै काम सम्पन्न गर्न र गुणस्तरको अनुगमन गर्न विशेष टोली गठन गरिने छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको उनले बताएका छन् । ‘राजधानीसमेत रहेको धार्मिक एवं सांस्कृतिक नगरी जनकपुरधामको ऐतिहासिक बारहबिघा मैदान र रामजानकी स्टेडियमको काम तत्काल अगाडि बढाइने छ ’उनले भने, मंसिरमै टेण्डर गरी शिलान्यास गरिने तयारी भएको छ । बारहबिघा सौन्दर्यकरणका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै २० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर त्यो काम हुन सकेन् ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले नै टेण्डर गरी सौन्दर्यकरणको काम गर्ने मुख्यमन्त्री यादवले बताए । बारहबिघाको सौन्दर्यकरणका लागि विस्तृत योजना प्रतिवेदन(डीपीआर)तयार भइसकेको छ । डीपीआर अनुसारको टेण्डर प्रकाशित भएपछि मात्र शिलान्यासको कार्य हुने उनले बताए । धार्मिक ग्रन्थहरुमा उल्लेख गरिए अनुसार सीता स्वयम्बर बारहबिघा(रंगभूमि) मैदानमा भएको थियो । रंगभूमि मैदानमा हरेक वर्ष विवाहपञ्चमी उत्सवको दिन स्वयम्बरको आयोजना गरिन्छ ।

रंगभूमि ठूलो क्षेत्रफल भएको मैदान रहे पनि पछि १२ बिघा क्षेत्रफल भएको अनुमान गर्दै त्यसको नाम नै बारहबिघा हुन गएको बताइन्छ । त्यसैगरि रामजानकी स्टेडियमको काम पनि चालु आर्थिक वर्षमा नै अगाडि बढाइने सरकारको तयारी छ । भारत सरकारले उपलब्ध गराएको १ अर्ब भारतीय रुपैयाँ पनि स्टेडियममा लगानी गर्न नेपालस्थित भारतीय दूतावासले सहमति दिइसकेको बताइएको छ । चालु आर्थिक वर्षमा नै मधेश प्रदेश सभाको भवन र प्रदेश सरकारको प्रशासनिक भवन (सचिवालय)को निर्माण पनि थालिने छ ।

प्रदेश सरकारको सचिवालयका लागि गुठी संस्थान मातहतको जनकपुरधामको पुलचोक नजिक रहेको (गढी) जग्गालाई छनोट गरिएको छ । प्रदेश सभाको भवन हालको प्रदेश सभा रहेको परिसर अथवा त्यससँगै रहेको गुठी संस्थानको जग्गामा निर्माण गरिने बताइएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै सरकारले स्थायी संरचना निर्माणमा जोड दिएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)ले जनकपुरधामको विकासमा पर्याप्त बजेट लगानी गर्न सरकारलाई निर्देशन दिएको बताइएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा लगानी गर्न प्रदेश सरकारलाई निर्देशन दिएकाले सरकार त्यसतर्फ अगाडि बढेको उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साहले बताए । मधेश प्रदेशमा स्थापनाकालदेखि नै जसपाको सरकार छ । तर विकासका लागि जनतामाझ स्थापित हुन सकेको छैन् ।

दुधमती नदीको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री यादवले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको दुधमती नदीको करिडोर बनाइने बताए । सरकारले गुठीको जग्गा संरक्षण गर्न प्रदेश मातहत दिनुपर्ने माग संघीय सरकारसित राखेको छ । प्रदेशमा भूमि व्यवस्था मन्त्रालय रहे पनि त्यो भूमिकाविहीन अवस्थामा छ । प्रदेश सरकारले संविधानले दिएको अधिकार संघीय सरकारले प्रदेशलाई दिनुपर्ने माग गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News