अपडेट 
२०८० मंसिर ३, आईतवार १०:३३

हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ।

चार देश सम्मिलित महिला टी-२० मा आइतबार बिहान जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो। हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सक्यो।

जापानका लागि ओपनर अकरी निशिमुराले ५१ बलमा २ चौका प्रहार गर्दै २९ रन बनाइन्। हिनासे गोटोले १६ र अहिल्या चन्डेलले ‍११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले एक/एक विकेट लिए। खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्। त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।

बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एक/एक विकेट लिइन्।  लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको थियो।

सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।

Comment


Related News

Latest News

Trending News