अपडेट 
२०८० मंसिर १३, बुधबार ०८:०९

विगत चार दशकदेखि एक अर्कासंग सहकार्य गर्दै राजनीतिक यात्रा गरेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र रामसरोज यादवबीचको राजनीतिक सम्बन्ध विच्छेद भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ठेकेदार संजय गुप्ता र जीवनाथ चौधरीमध्ये कसलाई महासमिति सदस्य बनाउने विषयमा दुबै जनाबीच मतभिन्नता भएपछि उनीहरुको सम्बन्ध विच्छेद भएको छ । निधिले ठेकेदार गुप्तालाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत गर्न थालेपछि यादवले ग्रासरुटका कार्यकर्तालाई सदस्य बनाउने अडान लिएपछि निधिले नगराइन नगर पालिकाका मेयर विनय यादवको घरमा बैठक बोलाएका थिए । यता यादवले बौहर्वामा बैठक गरेका थिए ।

२०७४ को प्रतिनिधिसभामा निधिले संजय साहलाई जेल मुक्त गराउन पहल थालेपछि चौधरी र निधिबीच दूरी बढेको थियो । निधि र चौधरीबीच सम्बन्ध प्रगाढ रहे पनि ती निर्वाचनमा निधिको हारले पनि दुबैको सम्बन्ध थप चिसिएको थियो । ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोबाट पराजित भएका निधिले मधेश प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्ने अडान लिएका थिए तर नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका नेता यादव चौधरीलाई लिएर भौतिक पूर्वाधार विकास मन्त्री बन्दा निधिसंग उनी दुबैको सम्बन्धमा थप दूरी उत्पन्न हुन पुग्यो ।

निधिमा देखिएको नातावाद र कृपावादको विरुद्धमा यादव र चौधरी दुबै लाग्दा निधिको सचिवालयले दुबैलाई निधिको बिरोधीका रुपमा प्रस्तुत गर्न थालेका छन् । निधि र यादव/चौधरीबीचमा दूरी ल्याउन सचिवालयको समेत महत्वपूर्ण योगदान रहेको कांग्रेसका विज्ञहरुको भनाइ छ । नेता निधिसंग स्थानीय कार्यकर्ताहरु नै नरहेको कांग्रेसीजनको भनाइ छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का अधिकांश नेता कार्यकर्ताहरु अन्य पार्टीमा गइसकेका छन् । बाँकी जो छन् उनीहरु पनि अत्यन्तै असन्तुष्ट रहेका कारण ती असन्तुष्टि सम्बोधन गर्न निधिलाई हम्मे हम्मे परेको छ । नेता निधिलाई काठमाण्डुमा गएर भेट्ने र उनको कुरामा सहमति जनाउनेहरुलाई मात्रै नेता मान्ने र ग्रासरुटका नेताहरुलाई बाइपास गरी आयातित नेताहरुलाई प्राथमिकता दिने समस्या रहेको ती क्षेत्रका नेताकार्यकर्ताको भनाइ छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ११ जना केन्द्रीय महासमिति सदस्यका लागि आयात नगरी स्थानीय ग्रासरुटका नेतालाई अवसर दिनुपर्ने यादव समर्थित नेता कार्यकर्ताहरुको माग छ भने नेता निधि भने ठेकेदार गुप्ताको नाम अगाडि सारेपछि विवाद बढेको थियो । अहिलेसम्म केन्द्रीय महासमिति सदस्यमा तीन जनाको नाम अगाडि आएको छ । रामबाबु यादव, जीवनाथ चौधरी र संजय गुप्ताको नाम अगाडि आएको छ ।

निर्वाचन समितिका अनुसार केन्द्रीय महासमितिमा ११ जनालाई चयन गरिने छ जसमा प्रत्यक्ष तर्फ दुई महिलासहित ७ जना र समानुपातिकतर्फ ४ जना रहने छन् । उनीहरुले बुधबार बिहान १० बजे देखि दिउँसो दुई बजेसम्म मनोनयन दर्ता गराउने, बुधबार नै अढाइ बजे प्रथम नामावली प्रकाशन गर्ने, तीन बजे मनोनयन पत्रमाथि दाबी बिरोध गर्ने र ४ बजे मनोनयन फिर्ता लिने समय निर्धारण गरेको छ । त्यस्तै ५ बजे उम्मेदवार को अन्तिम नामावली प्रकाशन गर्ने र १५ गते ९ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News