अपडेट 
२०८० मंसिर १४, बिहीबार ०८:०३

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश समितिको बुधबार सम्पन्न बैठकले संगठन विस्तार लाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

संघीयता मधेश आन्दोलनको उपलब्धि रहेको र संघीयता आएपछि मधेशलाई रैथाने बुझ्नेहरु अहिले सल्बलाउन थालेको भन्दै त्यसको पछि नलाग्न जनतालाई आग्रह गर्ने समेत निष्कर्ष निकालेको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बसेको बैठकले मधेशमा शासन गर्न नसकेपछि उनीहरु व्यवस्थामा केही परिवर्तन गर्न तयार रहेका कारण जनतामा देखिएका असन्तुष्टि सम्बोधन गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिइएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष यादवले मधेश आन्दोलनलाई दबाउने प्रयास गरिए पनि जनताले खेलेको भूमिकालाई साकार गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए । जनताको भावना अनुसार मधेश प्रदेशको वडा वडामा पुगी जनताको र ाय लिनका लागि उनले आग्रह गरे ।

मुलुकमा संविधान जारी गर्ने बेलामा संघीयताको विरोध गर्नेहरु अहिले पनि कसरी यसलाइ बर्बाद गर्ने त्यसतर्फ लागि परेको भन्दै त्यसतर्फ जानु भन्दा बढी जनताको भावना अनुसार काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । मधेशी जनताले स्वायता सुशासनका लागि अहिले पनि लडाइ लड्नु बाँकी रहेको छ भन्दै अध्यक्ष यादवले पहिला लडेको लडाइले जनतालाई के फाइदा भयो भन्ने कुरा बुझाउन जनतामाझ नै जानुपर्ने तर्क गरेका थिए ।

वर्षौदेखि शासन गरी शोषण गर्नेहरुको वर्तमान अवस्था हेरेर जनतामा निराशा आउन नदिने गरी काम गर्न सुझाव दिए । मधेशीहरुलाई नागरिकता दिन नचाहनेहरु आज आफ्नै कारणले नागरिकता विधेयक आयो लगायतका प्रोपगण्डा मच्चाउने गरेको आरोप लगाए ।

तीन महिने अभियानलाई निरन्तरता

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ ।

उक्त अभियान गत कार्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको छ । औपचारिक रूपमा अभियानको समय नथपिए पनि अनौपचारिक रूपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले भने–‘पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाण्डु बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाण्डु फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।’ विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोही अनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् । कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि संगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News