अपडेट 
२०८० मंसिर १८, सोमबार ०९:१५

दलितको घरमा आगो लगाएर जग्गा कब्जा गरेको आरोप लगाउँदै दलितहरुले सुरु गरेको विरोध प्रदर्शनलाई सशक्त बनाउँदै चर्काउन थालेका छन् । लहान नगरपालिकाका मेयर महेश चौधरीकोविरुद्ध सडक संघर्षमा उत्रेका दलितहरुले संघर्षलाई चर्काएका छन् । उनीहरुले हरेक दिन प्रदर्शन गर्दै मेयर चौधरीलाई कारबाहीको माग गरिरहेका छन् ।

लहान नगरपालिकाको वडा नम्बर १५ मा दुतीलाल मोचीको नाममा दर्ता रहेको १७ कठ्ठा जग्गा गैरकानुनी रुपमा मेयर चौधरीले कब्जा गरेको आरोप लगाउँदै संयुक्त दलित संघर्ष समितिले विरोध प्रदर्शन गरिरहेको छ ।

व्यक्तिको नाममा दर्ता रहेको जग्गा नगरपालिकाले गैरकानुनी ढंगले कब्जामा लिएपछि दलितहरु आक्रोशित भएका छन् । उनीहरुले सो जग्गा फिर्ता गर्न माग गरिरहेका छन् । चौधरीले जग्गा कब्जा गरी नगरक्षेत्रको फोहोर फाल्ने ‘डम्पिंग साइट’ बनाएका छन् । तर जग्गाको सम्पूर्ण प्रमाण पुर्जासहित मोचीका सन्तानहरुले गत कार्तिक २३ गते टहरा निर्माण गर्न लाग्दा मेयर चौधरीले आगो लगाएर ध्वस्त बनाउन लगाएको आरोप दलित अगुवाहरुको छ ।

संयुक्त दलित संघर्ष समितिका संयोजक मनोज पासवानले जग्गाधनी दलित भएकै कारण चौधरीले कब्जा गरेको आरोप लगाए । ‘दलितको जग्गालाई अनधिकृत रुपमा ‘डम्पिंग साइट’ बनाइएको छ’ उनले भने, नगरप्रमुख चौधरीले जग्गा खाली गरी जग्गाधनीलाई तत्काल फिर्ता नगरे संघर्ष अझै चर्किने छ ।

मेयर चौधरीले घरमा आगजनी गर्ने क्रममा प्रयोग गरेका प्रहरीले दलित महिलालाई लछारपछार गर्दै कुटपिट गरेका थिए । दलित महिलाहरुमाथि प्रहरी ज्यादती भएको र मेयरले नै त्यस्ता कुकृत्य गराएको पासवानले आरोप लगाए ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका चौधरी र जनता समाजवादी पार्टी(जसपा)का उपमेयर रामचलित्तर महतो रहेका छन् । नगर कार्यपालिकामा कांग्रेसकै बहुमत रहेको छ । गत स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाको चुनाव नेकां र जसपा मिलेर लडेको थियो । तर वर्षदिन नबित्दै मेयर र उपमेयरबीच तिक्तता अत्यधिक बढेको छ ।

मेयर चौधरीले दलितको जग्गा कब्जा गरेको प्रकरणमा उपमेयर महतोले असहयोग गरेका छन् । उपमेयर महतो संघर्षरत दलितहरुको पक्षमा देखिएका छन् । स्थानीय बासिन्दाहरु भने जग्गा प्रकरणमा विभाजित देखिएका छन् । केहीले जग्गाको श्रेस्तामा दलित दुतिलाल मोचीको नाम उल्लेख रहेकाले सो जग्गा उनकै रहेको तर्क गरिरहेका छन् । तर कतिपयले मोचीको नाममा हाल सो जग्गा नरहेको दाबी गर्दै विगतदेखि नै एलानी पर्ती रहेको बताइ रहेका छन् ।

नगरपालिका भित्रको विवाद सडकमा छताछुल्ल भएको छ । मेयरले ‘डम्पिंग साइट’ बनाएको जग्गालाई उपमेयर महतोले दलितलाई फिर्ता हुनुपर्ने अडान लिएका छन् । वरिष्ठ पत्रकार एवं स्वच्छता अभियानी देवकुमार यादवले दलितहरुको संघर्ष चर्किन सक्ने सम्भावना रहेको बताएका छन् । ‘नगरपालिकाले समयमै ठोस निर्णय लिनु आवश्यक छ’ उनले भने, व्यक्तिगत स्वार्थको विषय नरहे पनि नगरप्रमुख चौधरीले जनआवाजलाई नजरअन्दाज गर्न हुँदैन् । सिरहा जिल्लाको लहान दलित आन्दोलनका लागि उर्वरभूमि मानिन्छ । सिनो नफाल्ने लगायतका कयौं आन्दोलन लहानबाट सुरु भएर सफल भएको दृष्टान्त छ ।

सडकमा उत्रेका दलितहरुले विस्तारै जनसमर्थन प्राप्त गर्न थालेका छन् । संघर्षमा विभिन्न क्षेत्रका नेताहरु जोडिन थालेकाले हरेक दिन प्रदर्शनमा संख्या थपिएको देखिन्छ । लहान नगर क्षेत्रमा दलितहरुको बाक्लो संख्या रहेको छ । संयुक्त दलित संघर्ष समितिमा सबै दलित जातिहरुलाई समेटिएको र गैरदलितहरुबाट समेत समर्थन जुट्न थालेकाले परिणाम प्राप्त नभएसम्म संघर्ष रोकिने सम्भावना नरहेको बताइन्छ । यस सम्बन्धमा मेयर चौधरीसित सम्पर्क हुन सकेन्

Comment


Related News

Latest News

Trending News