सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ सम्पन्न भएको छ ।
जानकी मन्दिर परिसरमा आयोजना गरिएको धनुष यज्ञमा रामको प्रतिक बनाइएका बालकले धनुषमा प्रत्याञ्जा चढाउँदै भाचेका छन् ।
त्रेता यूगमा तत्कालिन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा अनुसार भएको धनुष यज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुक्रा भएको थियो। त्यस पश्चात मात्रै माता सीताको विवाह भगवानसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ।
चौथो दिन भोलि शुक्रबार तिल्कोत्सव हुनेछ । यस्तै शनिबार मटकोर रहेको छ भने आइतबार विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । सोमबार रामकलेवा हुने र त्यससंगै सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।


