अपडेट 
२०८० मंसिर २९, शुक्रबार ०७:४५

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन बिकको हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाई दिएको छ ।

सांसद कोइरी केही महिनादेखि फरारको सूचीमा रहेका थिए । सांसद महतोसँगै पवन कापडलाई पनि अदालतले सफाई दिएको छ । महतो फरार रहे पनि कापड भने थुनामा रहेका थिए ।

जिल्ला अदालतले सो मुद्दामा मधेश प्रदेशका सभासद एवं पूर्व राज्यमन्त्री अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । उच्च अदालतबाट उनी साधारण तारेखमा रहेका थिए ।

जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र कापडलाई सफाई दिए पनि शर्मा र जलेश्वर नगरपालिकाका पूर्व मेयर शंकर शाही भन्ने रामाशंकर मिश्र, प्रदीप साह, सञ्जय कुमार साह, मोहन ठाकुर, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको सजाय सुनाएको छ ।

सो मुद्दामा प्रदीप साह र सञ्जय कुमार साह थुनामै रहेका छन् । सो मुद्दाका अन्य अभियुक्तहरु मध्ये पूर्व सभासद कौशल कुमार यादव सहित फरार सूचीमा रहेका छन् । सफाई पाएका सांसद एमालेबाट महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद छन् । उनी फरार भएपछि प्रतिनिधि सभा सचिवालयले निलम्बन गरेको थियो ।

जन्मकैदको सजाय पाएका प्रदेश सभासद शर्मा भने अब पदमुक्त हुने कानुनविदहरुले जनाएका छन् । उनी दोस्रो कार्यकाल पनि महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित भएका छन् । सजाय पाउनेहरुमा अधिकांश लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता छन् ।

Comment


Related News

Latest News

Trending News