अपडेट 
२०८० पुष ३, मंगलवार १८:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेशको खारेजीका लागि देशभर आन्दोलन गर्ने भएको छ ।

आज केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै राप्रपाले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर व्यापक सभा तथा तयारीका काम गरिने, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने राप्रपाले जनाएको छ ।

पुस १ गतेदेखि बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै राप्रपाले आन्दोलनका लागि समान विचार राख्ने दल, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी एवम् देशभित्र र बाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सहभागी हुन आग्रह गरेको छ ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समिति गठन गरेको छ । यस्तै संगठन विभाग प्रमुख डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति तथा प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

आवश्यक अनुसार अन्य समिति बनाउने बैठकले निर्णय गरेको छ । राप्रपाको पुस १ देखि ३ गतेसम्म केन्द्रीय समितिको बैठक बसेको थियो ।

Comment


Related News

Latest News

Trending News