अपडेट 
२०८० पुष ७, शनिबार ०७:२८

जनता समाजवादी पार्टी (जसपा)नेपालको मधेश प्रदेश समिति पुनः गठनको सम्पूर्ण अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

मधेश प्रदेश कार्य समितिको शुक्रवार बसेको बैठकले जसपाको विधान २०८० अनुसार पार्टीको प्रदेश समिति पुनः गठनको लागि सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिइएको छ।

अध्यक्ष यादवको प्रदेश समिति पुनः गठन समितिमा मधेश प्रदेश इञ्चार्ज मृगेन्द्र यादव तथा सह इन्चार्जहरु आत्माराम साह, उर्मिला साह र सांसद दीपक कार्कीलाई सदस्य राखिएको छ । वर्तमानमा ७७ सदस्य रहेको मधेश प्रदेश कार्य समितिलाई ५१ सदस्य तथा १५ जना पदाधिकारी रहेकोमा त्यसलाई ९ मा झार्नेगरि पार्टीको प्रदेश समिति पुनः गठन गर्न लागिएकोछ । त्यसैगरि, ७ जना उपाध्यक्ष रहेकोमा अब गठन हुने कार्यसमितिमा ३ सचिव, ५ जना रहेकोमा अव ३ जना मात्र रहने छ ।

त्यसैगरि, अव गठन हुने मधेश प्रदेश कार्य समितिमा एक अध्यक्ष, ३ उपाध्यक्ष, १ प्रमुख सचिव, ३ सचिव र १ कोषाध्यक्ष समितिमा ९ जना मात्रै पदाधिकारी सहित ५१ सदस्य रहने प्रदेश कमिटीका एक सदस्यले बताए । पार्टीको नयाँ बिधानको अनुच्छेद ८ को धारा १४६ अनुसार नयाँ कार्य समिति गठन गर्न लागेको उनले बताए ।

पूर्व सांसद रामबाबु यादवको नेतृत्वमा तदर्थ समिति रहेको छ । पार्टीको नयाँ विधान अनुसार मधेश प्रदेश कार्य समिति पुनः गठन भएपछि मात्र भई शपथग्रहण नलिए सम्म वर्तमान कार्य समितिले नै मान्यता पाउने उनले बताए । पार्टीको विधान अनुसार नयाँ कार्य समितिले प्रदेश अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिने छ ।

बैठकमा वर्तमान अध्यक्ष रामबाबु यादवको नेतृत्वमा पार्टी मधेशमा कमजोर भएको भनेर उनको सदस्यहरुले चर्को आलोचना गरेको एक प्रदेश सांसदले बताए । अध्यक्ष यादवको नेतृत्वको रहेको प्रदेश समिति निष्कृय रहेको कारण गत निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको तथा केही नेता तथा कार्यकर्ताहरु रुष्ट भएर अन्य पार्टीमा प्रवेश गरेको भन्दै प्रदेश अध्यक्ष यादवको आलोचना समेत भएको उनले बताए ।

बैठकमा मधेश प्रदेश सरकार नेतृत्वको समेत चर्को आलोचना भएको सहभागी एकजना सदस्यले जनाए । सहभागीहरुले पार्टीले सरकारको नेतृत्व गरिरहेको बेला जनताको अपेक्षा अनुसार काम हुन नसकेको आरोप लगाउँदै चर्को आलोचना गरिएको ती सदस्यले बताए ।मुख्यमन्त्री सरोज कुमार यादवको पनि बैठकमा आलोचना भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News