अपडेट 
२०८० पुष २०, शुक्रबार ०७:३२

राष्ट्रिय सभा सदस्य पदका लागि मधेश प्रदेशमा भारी आर्थिक चलखेल हुन लागेको छ ।

राष्ट्रिय सभामा मधेश प्रदेशको २ जना सदस्यको कार्यकाल पूरा भएपछि स्थान रिक्त भएको छ । जनता समाजवादी पार्टी(जसपा)को महिला सदस्य र नेपाली कांग्रेसको पुरुष सदस्यको कार्यकाल पूरा भएपछि रिक्त भएको पदका लागि आर्थिक चलखेल सुरु भएको छ ।

सत्ता गठबन्धन दलहरुबीच भएको सहमति अनुसार जुन दलको जुन सदस्य पद रिक्त भएको छ, सो ही पदमा उम्मेदवारी दिनुपर्ने छ । तर मधेश प्रदेशमा जसपाले पुरुष सदस्य पदका लागि प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभा सदस्यमा जान १ जना ‘क’ वर्गका ठेकेदारले चासो देखाएका छन् । कांग्रेसमा उनले ५ करोड सम्मको प्रस्ताव गरेको उच्च स्रोतले जनाएका छन् । ६ वर्षको कार्यकालका लागि चुनिने सदस्य पदमा ठेकेदारको चासो बढेसँगै राजनीतिक दलहरुबीच उम्मेदवारको लिंग फरक हुने गरी हानथाप हुन थालेको छ ।

कांग्रेस र जसपाबीच फरक लिंग भएका उम्मेदवारमा सहमति भए आर्थिक चलखेलसँगै प्रभावशाली महिला आकांक्षीको सपना पूरा हुने छैन् । कांग्रेसमा महिला सदस्य लिन संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन थालेका छन् । मधेश प्रदेशमा कांग्रेसको भागमा महिला कोटा परे महोत्तरीकी नेतृ किरण यादवको संभावना बलियो रहने छ । उनी कांग्रेस केन्द्रीय समितिको सदस्य र पूर्व सभासद पनि हुन् । उनलाई राष्ट्रिय सभामा ल्याउन डा.कोइराला समूहले भरमग्दुर प्रयास गरिरहेका छन् ।

जसपामा पुरुष कोटा परे प्रभावशाली नेतृ रेनु यादवको संभावना समाप्त हुनेछ । राष्ट्रिय सभामा जानबाट यादवलाई रोक्न सकृय रहेका समूहले ठेकेदारको पक्षमा लविङ्ग गर्न थालेका छन् । कांग्रेस संस्थापन पक्षले पुरुष सिट नै लिने अडानमा रहेको छ । तर जसपाको तर्फबाट दबाब आउन थालेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार महिला सदस्यमा आर्थिक चलखेलको संभावना कमजोर रहेकाले नेताहरु पुरुष उम्मेदवारप्रति बढी जोड दिन थालेका छन् । मधेश प्रदेशको राजनीतिमा कांग्रेसको संस्थापन पक्षले किरण यादवलाई रोक्न रिक्त भएको पुरुष सिटमा नै उम्मेदवारी दिनुपर्नेमा अडिग देखिएका छन् ।

कांग्रेसको रिक्त भएको पुरुष सिटमा नै उम्मेदवारी दिनु पर्ने दबाब संस्थापन पक्षका नेताहरुले सभापति देउवामाथि दवाव बनाएका छन् ।उनीहरुले महिला सदस्यको पद जसपालाई दिनुपर्नेमा पार्टी भित्र वातावरण बनाउन लागेका छन् ।

जसपामा असन्तुष्ट रहेकी नेतृ रेणु यादवलाई राष्ट्रिय सभामा पठाएर मधेश प्रदेशमा सन्तुलन मिलाउन नेतृत्व तहमाथि दबाब दिने समूह भने धेरै प्रभावशाली हुन नसकेको स्रोतले जनाएका छन् । यादवलाई उम्मेदवारबाट रोक्न पुरुषमा जोड दिने समूह प्रभाशाली रहेको स्रोतले जनाएका छन् । ठेकेदारले मोटो रकम दिएर भए पनि सांसद बन्ने धोको पूरा गर्न लागि परेका छन् । उनले कांग्रेस र जसपाका शीर्ष नेताहरुलाई प्रभावित गर्न लागेका छन् ।

स्रोतका अनुसार कांग्रेसमा उनले संभावना कम देखेपछि जसपा तर्फ ‘पासो’ थापेको बताइन्छ । राष्ट्रिय सभाको सदस्य पदका लागि कांग्रेस र जसपामा कार्यकाल पूरा गरेको भन्दा फरक लिंगका उम्मेदवार बनाए मधेश प्रदेशको राजनीतिमा समेत प्रभाव पर्नसक्ने बताइन्छ ।

मधेश प्रदेश कांग्रेसले हालै ६२ जनाको नाम राष्ट्रिय सभा सदस्यका लािग सिफारिस गरेको छ । सिफारिस गरिएका नाम मध्ये पुरुषहरु नै प्राथमिकतामा छन् । संस्थापन पक्षका प्रभावशाली नेता आनन्द प्रसाद ढुंगानालाई राष्ट्रिय सभामा पु¥याउन सभापतिमाथि एउटा समूहले दबाब बनाएको छ ।

मधेश प्रदेश समितिले सिफारिस गरेको सूचीमा ढुंगानाको नाम १ नम्बरमै राखिएको छ । जसपाले भने राष्ट्रिय सभासदस्यका लािग नाम प्रस्ताव गरेको छैन् । पुस २३ गते राष्ट्रिय सभा सदस्य पदका मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News