अपडेट 
२०८० पुष २१, शनिबार ०८:१२

मुख्य महन्त र उत्तराधिकारी महन्तको खिचातानी, बादविवाद र आरोप– प्रत्यारोपबीच सीतानगरी जनकपुरधामबाट १ हजार १ सय भार राम जन्मभूमि अवधपुरी पुगेको छ । जानकी मन्दिरको सनेश भनिएको उक्त भार बोकेर उत्तराधिकारी महन्त रामरोशन दासको नेतृत्वमा गएका भरियाहरुलाई औपचारिक विदाई भने मुख्य महन्त रामतपेश्वर दास वैष्णवले गरेका थिए ।

विदाई समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि, मुख्यमन्त्री सरोजकुमार यादवसहित स्थानीय प्रशासनका उपल्ला पदाधिकारीहरु पनि सहभागी थिए । विदाई समारोहको उपस्थितिले एकातिर उत्तराधिकारी महन्तको अभियानलाई औपचारिकता प्रदान ग¥यो, अर्कोतिर दुई महन्तबीच सुरु भएको प्रभुत्वको जुहारीमा पक्ष विपक्षमा बाँडिएका मनुवाहरुको गालामा तगडा थप्पर पनि प्रहार ग¥यो । विदाई समारोहको उद्घोष थियो– ‘बेगाने की शादी मे अब्दुला दिवाना ।’

टाउकोमा सनेश बोकेर नगर परिक्रमा गरेका मुख्यमन्त्री यादव अर्को दिन खुलासा गर्नु भयो– ‘अयोध्या भार लग्न भनि जानकी मन्दिरले ५० लाख रुपैयाँ मागेको थियो । प्रदेश सरकारसंग त्यो रुपैयाँ कस्ले माग्यो ? मुख्य महन्तजीले ? वा उत्तराधिकारी महन्तजीले ? खुल्न सकेको छैन । चेली बेटीको गृहप्रवेशमा माइतीबाट सनेश जानु मिथिलाको परम्परा हो । उत्तराधिकारी महन्तजी यस परम्परालाई निर्वाह गर्न अग्रसरता देखाउनु भयो । मुख्य महन्तजी पनि विदाई समारोहमा सहभागी हुनुभयो ।

दुबै महन्तजीको यो काम स्वागतयोग्य हो । यसको प्रशंसा गर्नु पर्दछ । तर सबाल उठ्छ– जानकी मन्दिर यसै गरी कति दिनसम्म चल्छ ? जनकपुरको मौलिक पहिचान जानकी मन्दिर, राममन्दिरसहित यहाँका ५२ कुटी र ७२ कुण्डहरु छन् । तर पछिल्लो समय यिनै मठ मन्दिरका महन्त, पुजारी र उनीहरुका सखा सम्बन्धीहरुको कारण यस पवित्र नगरीको मौलिक पहिचान मलीन हुन थालेको छ । मन्दिर व्यवस्थापनको विषयमा महन्त, पुजारीहरुको बीचमा पटक पटक बाद विवाद हुँदै आएको छ ।

सन् १७०७ मा मकवानी राजा इन्दुविधाता सेन, मानिक सेनलसंगै शाहवंशी राजा, राणा प्रधानमन्त्रीहरु तथा सर्वसाधारणले दिएको चल अचल सम्पतिको आम्दानीबाट संचालित यहाँका मठ मन्दिरहरुको व्यवस्थापन निजी सम्पति जस्तो हुनु समस्याको चुरो विषय हो । मठ मन्दिरको जग्गा हत्याउने, बिक्री गर्ने तथा महन्त बन्ने होडवाजीमा यहाँका आधा दर्जन भन्दा अधिक साधु, पुजारी, महन्त र उनीहरुका सागा सम्बन्धीहरुको हत्या भइ सकेको छ । जग्गा तथा महिलासंगको अवैध सम्बन्धको कारण लक्ष्मीनारायण मठका मान महन्त देवा दासको हत्या भएको थियो ।

२०२९/०३० सालमा जनकपुर पेठियागाछी स्थित गिरनारी कुटीका महन्त रविगिरी र उनका चेला वीर गिरीको हत्या गरी मन्दिरकै सन्दुकमा राखिएको अवस्थामा शव फेला परेको थियो । २०३८ सालमा जानकी मन्दिरको उत्तरी ढोकामा रहेको ईनारमा जोगी साहको शव फेला परेको थियो । विहारकुण्डका महन्त रामपुकार शरणलाई गोलीहानी हत्या गर्नुको कारण पनि सम्पति विवाद नै थियो । आफ्नै गुरु रामभद्र दास वैष्णवको हत्या आरोपमा बिरख कुटीका महन्त वकिल दासलाई जेल सजाय काट्नु परेको थियो ।

यद्यपि वकिल दासले बिरख कुटीको जग्गा हत्याउन रत्नसागर मठका तत्कालीन उत्तराधिकारी महन्त बैकुण्ठ दासले आफूलाई षडयन्त्रपूर्वक फंसाएको दाबी गर्छन् । मठ मन्दिर तथा सरोवरहरुको सही व्यवस्थापन नभएसम्म मठ मन्दिरका महन्त, पुजारी तथा आम नागरिक दुई कित्तामा बाडिई रहने पक्का हो ।

यद्यपि यसका लागी कुनै प्रयासै भने नभएको होईन, जनकपुरधामका मठ मन्दिरको श्रीसम्पतिको लगत, अवस्था तथा सुधारका लागि आवश्यक सुझाव दिन २०६२ श्रावण २६ गते मन्त्रिमण्डलको निर्णय अनुसार बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा घिमिरेका अतिरिक्त तत्कालीन अंचल प्रशासक जनक जंगली, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद नेपाल, केन्द्रीय गुठी, जिल्ला विकास समिति र जनकपुर नगरपालिकाका प्रतिनिधिसंगै वरिष्ठ अधिवक्ता विश्वनाथ प्रसाद उपाध्याय, सह प्राध्यापक डा.भोगेन्द्र झा तथा संस्कृतिविद उपप्राध्यापक लक्ष्मण अर्याललगायत सदस्य थिए । उक्त कार्यदलले २०६२ असोज ६ गतेमा तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।

२०६२ माघ ६ गते बुझाएको उक्त प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ–‘२०४४ साल पौष मसान्तसम्ममा जानकी मन्दिर, रत्नसागर मठ र दशरथ मन्दिरले मनखप लगाएको जग्गाको लगत(विवरण) गुठी संस्थानमा पेश गरी सकेको छ । त्यस पछि पनि २०४४ साल पौष मसान्तभन्दा पहिलेको मितिको मनखपको कागज तयार गरी सम्बन्धित व्यक्तिहरुलाई दिइ सोही कागजको आधारमा अनाधिकृत तवरबाट महन्तहरुबाट गुठी तैनाथी जग्गामा घर बनाउन लगाइएको देखिन्छ ।

यी तीनै मन्दिरका महन्तहरुले करिब १४ बिगहा जग्गामा घर बनाउन लगाउनु भएको छ । यी तीनबटा मन्दिरले करिब २० करोडको जग्गा बिक्री गरिसकेको छ ।’ कार्यदलले जनकपुरका मठमन्दिर हरुलाई ट्रष्टमा लग्नुपर्ने सुझाव पनि दिएको थियो । प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ– ‘राममन्दिर तथा जानकी मन्दिर जस्ता आर्थिक रुपले सवल मन्दिरहरुको सु– व्यवस्थापनार्थ ट्रष्ट वा कोषको अपरिहार्यता स्वीकार गर्दै ट्रष्टको वैधानिक स्वरुप कायम नहुन्जेलसम्मका लागि व्यवस्थापन समिति गठन गरी ती मन्दिरहरुको प्रभावकारी व्यवस्थापन र संचालन गर्नु उपयुक्त हुनेछ ।’

कार्यदलले जनकपुर वरिपरिका ४९ धार्मिक महत्वका सार्वजनिक पोखरीहरुको सूची सार्वजनिक गर्दै यी पोखरीहरुमध्ये जनकसरोवर, अमृतकुण्ड, गोपालसर, पयस्वनीसर र वलदेवसर लोप भइसकेको उल्लेख गरिएको छ । भोजराज घिमिरे नेतृत्वको कार्यदलले नगरपालिका भित्रका पोखरीहरुको सामूहिक व्यवस्थापन गरिनुपर्ने सुझाव दिएको थियो ।

प्रतिवेदनको सुझाव खण्डमा उल्लेख छ– ‘सामुदायिक सहभागितामा पोखरीहरुको व्यवस्थापन प्रक्रृया संचालन गर्नु पर्दछ । तर भोजराज घिमिरे नेतृत्वको उच्च स्तरीय कार्यदलले नेपाल सरकारलाई मठ मन्दिर र पोखरीहरुको व्यवस्थापन सम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाएको १७ वर्ष भयो । यस बीचमा मुलुक प्रादेशिक संरचनामा गएको छ ।

मधेश सरकार प्रदेशका मठ मन्दिर र मस्जिद र मदरसा आदिको मर्मत संभार तथा सौन्दर्यकरणको नाममा करौडौ रुपैयाँ खर्च गरेको छ । तर जनजनको धार्मिक आस्थासंग प्रत्यक्ष सम्बन्ध राख्ने यहाँका मठ मन्दिर तथा मदरसाहरुको व्यवस्थापन बारे कुनै रणनीति बनाउन सकेको छैन । जानकी मन्दिरले कोसेली लग्ने नाउँमा ५० लाख माग्यो भनेर सार्वजनिक अभिव्यक्ति दिनु भएका मुख्यमन्त्रीजीसंग मेरो हार्दिक निवेदन– मुख्यमन्त्रीजी प्रदेशका धार्मिक स्थलहरुलाई ट्रष्ट अन्तर्गत समाहित गर्नोस् त्यसपछि कुनै पनि मठ मन्दिरले प्रदेश सरकारसंग पैसा माग्न जादैन ।

बरु आवश्यकता परेको वेला सरकारलाई नै सहयोग गर्ने हैसियतमा पुग्ने छन् । कोरोनाकालमा भारतमा मठ मन्दिर हरुले त्यहाँको सरकारलाई अर्बौ सहयोग गरेको स्मरण होला नै ? अब देखि भारको भारी कसैले बोक्नु नपारोस यस्तो सिस्टम बनाउनु होस् । जय जय हो किशोरीजी

Comment


Related News

Latest News

Trending News