अपडेट 
२०८० पुष २३, सोमबार ०८:२९

नेपाल राष्ट्र बैंक जनकपुरधामले मधेश प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

समष्टिगतरुपमा मधेश प्रदेशको आर्थिक स्थितिलाई अध्ययन गरी नेपाल राष्ट्र बैंक जनकपुरधामले आर्थिक वर्ष ०७९/०८० को मधेश प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । समष्टिगत आर्थिक स्थितिलाई नियाल्दै यस आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने बैंकले अनुमान गरेको छ ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ७ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको बैंकका निर्देशक अशोक घिमिरेले जनाए । त्यस्तै कुल गार्हस्थ्य उत्पादन वृद्धि दर चालु आर्थिक वर्ष ०८०/०८१ मा राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १.८६ प्रतिशत अनुमान गरिएकोमा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.६९ प्रतिशत रहने अनुमान गरिएको छ ।

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३५.२ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२ प्रतिशत खानी तथा उत्खनन क्षेत्रको रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष ०७९/०८० मा मधेश प्रदेशमा प्रमुख कृषि उपज खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्रफलमा ३.१६ प्रतिशतले वृद्धि भइ १० लाख ३७ हजार ४४ हेक्टर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ३.२५ प्रतिशतले ह्रास आएको छ । जसले गर्दा ६१ लाख ८२ हजार १ सय ३४ मेट्रिक टन पुगेको जनाइएको छ । मधेश प्रदेशमा समीक्षा वर्षमा दुग्ध उत्पादनमा १.७० प्रतिशत, मासुको उत्पादनमा १.३७ प्रतिशत, अण्डाको उत्पादन १.८८ प्रतिशत र माछाको उत्पादनमा ५.२७ प्रतिशत वृद्धि भएको जनाइएको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जाको १२.५५ प्रतिशत पुगी ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको जनाइएको छ । त्यस्तै उद्योग क्षेत्र तर्फको समीक्षा वर्षमा मधेश प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४.२५ प्रतिशत रहेको छ भने उत्पादन वृद्धि औसतमा ५.२३ प्रतिशत रहेको जनाइएको छ ।

त्यस्तै समीक्षा वर्षमा मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले वृद्घि भई १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम् धातुका सामान उत्पादनतर्फ ५ प्रतिशत, निर्माण उद्योगतर्फ ६ प्रतिशत, खानी उद्योगतर्फ २ प्रतिशत र विद्युत, ग्यास तथा पानी उद्योगतर्फ १ प्रतिशत कर्जा प्रवाह भएको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सेवा क्षेत्रतर्फ मधेश प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.९९ प्रतिशत र ५५.३७ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेसन संख्यामा ७५.२७ प्रतिशतले ह्रास भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा २६.६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप १३.२५ प्रतिशतले वृद्धि भइ २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ४.६८ प्रतिशतले वृद्धि भइ ४ खर्ब ५० अर्ब २१ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि पूर्वाधार र रोजगारी क्षेत्रतर्फको मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाण्डु तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ०७९/०८० को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ८१ हजार ६ सय १३ रहेको छ जुन संख्या मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २३.५५ प्रतिशत रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News