अपडेट 
२०८० पुष २४, मंगलवार ०७:४३

राष्ट्रिय सभा सदस्य पदका लागि मंगलवार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मधेश प्रदेशबाट २ स्थानका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभाको रिक्त भएको २० स्थान मध्ये २ स्थान मधेश प्रदेशको रहेको छ । त्यसमा १ जना महिला र १ जना अन्य रहेका छन् । मधेश प्रदेशका लागि रिक्त रहेको दुई स्थानमध्ये गठबन्धनको तर्फबाट नेपाली कांग्रेसलाई अन्य र जनता समाजवादी पार्टी (जसपा)ले महिला सिट पाएको छ ।

सत्ता गठबन्धनले रिक्त भएका पदमा नेपाली कांग्रेसबाट पुरुष तर्फ आनन्द प्रसाद ढुंगाना र जसपाबाट डा.पूजा चौधरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अन्यमा ढुंगानाको नाम सिफारिस गरेपछि मधेशमा आक्रोश देखिएको छ ।

कांग्रेस मधेशमा मधेशी अनुहारलाई उम्मेदवार बनाउनुपर्ने कांग्रेसी नेता कार्यकर्ताहरुको भनाइ छ । नेकपा एमालेले भने दुबै स्थानमा महिला उम्मेदवार नै उठाएको छ । अन्य उम्मेदवारको नाम मतदाता सूचीमा नरहेपछि अचानक महिलालाई नै उम्मेदवार बनाएको छ ।

एमाले तर्फबाट उम्मेदवारी दिन पुगेका अर्जुन सिंह रित्तै फर्किनु परेको थियो । उनी कहिल्यै मतदान नै गरेका छैनन् । जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा तम्तयार भएर उम्मेदवारी दर्ता गराउन पुगेका सिंहले कागजपत्र जुटाई उम्मेदवारी फारम भरेर दिए पनि उनको उम्मेदवारी दर्ता नै भएन । मतदाता नामावलीमा सिंहको नाम फेला नपरेपछि उनको उम्मेदवार बन्ने सपना अधुरै रह्यो ।

एमालेको भातृ संगठन नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिवसमेत रहेका मधेश प्रदेशका ईञ्चार्ज सिंह मतदाता नरहेको बारे सबै बेखबर थिए । मतदाता समेत नरहेकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएपछि एमालेको निर्वाचन कार्यालयमै व्यापक आलोचना गरिएको थियो । बिगतमा पनि एमालेका नेता गंगाराम यादवले जुलुस सहित उम्मेदवारी दर्ता गराउन जाँदा मतदाता सूचीमा नाम फेला नपरेपछि अर्कै नेतालाई उम्मेदवार बनाइएको थियो ।

बौद्धिक र विज्ञहरुको थलो मानिने राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न मनोनयन पत्र समेत दाखिला गरिसकेका एमालेका बुद्धिजीवी परिषद्का सदस्यको नाम मतदाता सूचीमा फेला नपरेपछि चौतर्फी उपहास हुन थालेको छ ।

राष्ट्रिय सभाका लागि पनि सिंहको नाम मतदाता सूचीमा फेला नपरेपछि आकस्मिक रुपमा विजयेता झालाई उम्मेदवार बनाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा चुनाव उठ्ने उनी तयारी गरिरहेकी थिइन् । निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेशका प्रमुख न्यायाधीश चित्रबहादुर गुरुङ्गले मतदाता नामावलीमा नाम नहुँदा सिंहको उम्मेदवारी दर्ता नभएको जानकारी दिए । उनको ठाउँमा एमालेले विजयेता झालाई उम्मेदवारी दिन लगाए भने महिला पदमा उषा देवी थरुनीले उम्मेदवारी दर्ता गराइन् ।

जनमत पार्टीबाट अन्य पदमा रामशंकर महासेठले उम्मेदवारी दर्ता गराएका छन् ।

मधेश प्रदेशमा १ सय ७ जना प्रदेशसभा सदस्य, १ सय ३६ पालिकाका प्रमुख र उपप्रमुख मध्ये २ सय ६७ जना जनप्रतिनिधि गरी कुल ३ सय ७४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्नेछन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । यस निर्वाचनमा स्थानीय तहको ५ हजार ७३ मतभार र प्रदेशसभा सदस्यको ५ हजार ६ सय ७१ मतभार गरी कुल १० हजार ७ सय ४४ मतभार छ । सत्ता गठबन्धन मध्ये नेपाली कांग्रेसको मतभार १ हजार ९ सय ५३ रहेको छ ।

त्यसैगरि माओवादी केन्द्रको ७ सय ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ९ सय ३३ मतभार, नेकपा एसको ४ सय २४ र जसपाको १ हजार ८ सय ४३ मतभार रहेको छ । गठबन्धनको पक्षमा ५ हजार ९ सय ११ मतभार रहेकोले अन्य दलहरु गठबन्धन गरे पनि जीत गठबन्धनकै निश्चित रहेको छ । नेकपा एमाले प्रदेशमा सबै भन्दा ठूलो दल देखिएको छ ।

एमालेको मतभार २ हजार ३ सय ५७ रहेको छ । त्यसैगरि जनमत पार्टीको मतभार ७ सय ४६ रहेको छ । एकल रुपमा एमालेको मतभार बढी रहे पनि एमाले र जनमत पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । नागरिक उन्मुक्ति पार्टीको १ जना सभासदको कुल ५३ मतभार रहेको छ । त्यो मत पनि सत्तागठबन्धनका उम्मेदवारलाई नै जाने निश्चित छ ।

Comment


Related News

Latest News

Trending News