अपडेट 
२०८० पुष २६, बिहीबार ०८:१३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले चाँडै पार्टी परित्याग गर्ने संकेत गरेका छन् ।

पार्टीबाट बिद्रोहगरि महतोले आफ्नै नेतृत्वमा नयाँ दल गठनगरि मधेशमा स्थापित हुने तयारी गरेका छन् ।

लोसपामा अध्यक्ष महन्थ ठाकुरको कृयाकलापले चरम असन्तुष्टि देखिएको छ ।लोसपाका असन्तुष्ट, जसपाबाट बिमुख लगायतका नेता, कार्यकर्ताहरुलाई समेटेर नयाँ पार्टी गठन गर्ने तयारीमा महतो जुटेको उनका निकट एकजना सहयोगीले जनाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट मधेशी उम्मेदवारलाई जिताउने प्रयास सत्तासाझेदार मधेशी दलहरुले नगरेपछि आक्रोश बढेको छ ।मधेशको अपनत्व बढाउन प्रष्ट नीति लिएर महतोले माघ महिनाको प्रारम्भदेखि अभियान सञ्चालन गर्ने बताइएको छ ।

लोसपाको केन्द्रिय समिति विस्तारगर्दा त्यसमा महतो निकटका नेता, कार्यकर्ताहरुलाई समेटिएको छैन् ।महतोले आफ्ना निकटका नेता, कार्यकर्ताहरुलाई सम्मानजनक स्थान दिनुपर्ने माग राखेका थिए ।तर ठाकुरले सम्बोधन गरेका छैनन् ।त्यसलेपनि महतो आक्रोशित बनेका हुन् ।पछिल्लो पटक भएको केन्द्रिय समितिको बैठकलाई महतो र अनिल कुमार झाले वहिष्कार गरेका थिए ।त्यसपछि महतो र झा पार्टीको कुनै औपचारिक बैठकहरुमा सहभागि भएका छैनन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाले राष्ट्रिय सभामा थारु पुजा चौधरीलाई र कांग्रेसले आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएका छन् ।सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका चौधरी र ढुंगाना चुनाव जित्ने निश्चित रहेको छ । समाजिक सञ्जाल लगायत बिभिन्न राजनीतिक छलफलमा मधेश प्रदेशबाट समेत मधेशीको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा जसपा लगायतका दलहरुको चर्को आलोचना हुने गरेको छ ।

आलोचनामा कांग्रेसका मधेशी नेताहरुपनि परेका छन् । मधेशको भावनालाई दृष्टिगतगरि नेता महतोले नयाँ दलको तयारीमा लागेका छन् ।विगतमा सदभावना पार्टी गठनगरि संबिधान सभा चुनावमा सहभागि भएका महतो ठाकुरको नेतृत्वमा ६ दल एकिकृत भै राष्ट्रिय जनता पार्टी(राजपा) गठन भएदेखि ठाकुरसँगै रहेका छन् ।

लोसपा अहिले संघीय र प्रदेश सरकारमा सहभागी छ ।संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी मन्त्री छन् ।प्रदेशमा लोसपाबाट रमेश प्रसाद कुर्मी वन मन्त्री छन् ।सिंह र कुर्मी दुबै जना ठाकुर निकटका नेता हुन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा जिल्ला अदालतले महोत्तरीले गरेको फैसलाको प्रतिकृयामा महतोले पार्टीलाई संघीय सरकारबाट बाहिरिन दवाव दिएका थिए ।तर ठाकुरले उनको प्रस्तावलाई ठाडै अस्वीकार गरेका थिए ।

प्रतिनिधि सभाको पछिल्लो चुनावमा गृह जिल्ला सर्लाहीबाट पराजित भएका महतोले लोसपामा अस्तित्व जोगाउन संघर्षरत्त छन् । मधेश प्रदेशमा रहेका आफ्ना निकट नेता, कार्यकर्ताहरुलाई समेटेर नयाँ ढंगले अगाडी बढदा उपयुक्त हुने उनका सहयोगीहरुले सुझाएका छन् । महतोले ठाकुरलाई अध्यक्ष राखेर कार्यकारी अधिकार सहित पार्टीको नेतृत्वगर्ने भरमग्दुर प्रयास गरेका हुन् ।तर ठाकुरले आफू बाँचुञ्जेल पार्टी अध्यक्ष नछाड्ने अडानमा दृढ रहेकाले महतो अलग्गिन लागेका हुन् ।

कुशल वक्ताको रुपमा मधेशमा चिनिने महतो दक्षिणी छिमेकीसित मधुर सम्बन्ध बनाएका सिमित नेताहरु मध्येका हुन् । उनी एमालेमा प्रवेश गर्ने चर्चापनि नचलेको होइन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसितको निकट्ताले उनी त्यता जाने अड्कल भइरहेपनि नयाँ दल नै खोलेर अगाडी बढनेमा उनी मानसिक रुपमा तयार भइसकेको बताइन्छ । लोसपाका नेता महतोलाई लोसपाका अर्का वरिष्ठ नेता अनिल कुमार झालेपनि साथ दिने निश्चित जस्तै रहेको बताइन्छ ।तर नेता झाले यस सम्बन्धमा औपचारिक रुपमा धारणा सार्वजनिक गरिसकेका छैनन् ।

राजनीतिक अभियानको रुपमा हाल मधेश प्रदेशमा घनिभूत छलफल गर्ने उल्लेख गर्दै उनका अत्यन्त निकटका राजनीतिक एकजना सहयोगीले भने, राजनीतिक दल गठनगरि तत्कालै अगाडी बढन सहज छैन् ।दलको विषयमा पछि निर्णय हुनेछ । मधेशलाई नै आधार बनाएर निर्णायक शक्ति बनेका दलहरु अहिले ठूला दलहरुकै पदचिन्हलाई पछ्याएकाले मधेशी भावनाको प्रतिनिधित्व गर्ने एउटा सशक्त दलको आवश्यकता रहेको महतोका सहयोगीले बताए ।

Comment


Related News

Latest News

Trending News