अपडेट 
२०८० पुष २९, आईतवार १७:३७

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेकाे आयाेगले जनाएकाे छ ।

याे खर्च मतदाता नामावली खरिद, गाडी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्नेछ । यसरी खर्च गर्दा उम्मेदवारकाे तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उसकाे नामसहितकाे विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ । खर्चको विवरण चुनाव सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम चुनाव परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ ।

१० सदस्यीय पदका लागि हुने चुनावका लागि सातै प्रदेशमा ५१ जना उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिवार चुनाव चिह्न वितरण गरिसकेको छ ।

 

Comment


Related News

Latest News

Trending News