अपडेट 
२०८० माघ २, मंगलवार ०७:५१

‘नक्कली बाबु’ बनेर एक किशोरीलाई नागरिकता दिलाएको भन्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीमाथि छानबिन थालिएको छ ।

महानगर प्रमुख नहुँदै ती किशोरीलाई सिंहले नागरिकता दिलाएको आरोप लागेको छ । उजुरीमा सिंहको एकमात्र छोरा भएको तर नक्कली छोरी बनाई नागरिकता दिलाएको उल्लेख छ । उजुरीमा २०७५ साउन १३ मा ती किशोरीलाई नागरिकता दिलाएको जनाइएको छ । उक्त नागरिकतामा आमाको नाम नखुलाइए पनि बाबुको नाम भने राजेशमान सिंह उल्लेख छ ।

२०७६ फागुन ८ मा उक्त नागरिकताको प्रतिलिपि झिकिएको छ । सिंहविरुद्धको उजुरीबारे कागजात छानबिन थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललाई जिम्मेवारी तोकिएको छ । प्रजिअका अनुसार नागरिकता जारी भएको प्रशासनको ढड्डामा उल्लेख छ । ‘नागरिकता जारी हुने बेला भरिने अनुसूची र त्योसँगको पूरक कागजात खोजी भइरहेको छ,’ प्रजिअ लम्सालले भने, ‘ नागरिकता जारी भएको ढड्डाचाहिँ प्रशासनको अभिलेखमा छ । उक्त नागरिकता सम्बन्धमा करिब ७ महिनाअगाडि पनि कुरा उठेकाले कागजात कतै परेको हुन सक्छ ।’ नागरिकतासम्बन्धी अनुसूची र कागजात अनुसन्धान गरेपछि मात्र कामकारबाही अगाडि बढ्ने उनले बताए ।

महानगर प्रमुख सिंहले भने नागरिकता प्रकरणको अनुसन्धानमा पूर्ण सहयोग गर्ने र यसको जवाफ सम्बन्धित स्थानमा दिने बताए । ‘प्रशासनमा उजुरी परेको छ । अनुसन्धानमा हाम्रो पूर्ण सहयोग रहन्छ,’ उनले भने, ‘यसबारे सम्बन्धित निकायमै जवाफ दिन्छु ।’

Comment


Related News

Latest News

Trending News